
वीरगञ्ज, ७ जेठ
पर्सा जिल्लामा बढ्दो सवारी दुर्घटनालाई कम गर्नका लागि स्थानीय तहमा ट्राफिक सचेतनामूलक अभियानको सुरुवात गरिएको छ। बुधबार साँझ वीरगञ्जको प्रमुख चोक घण्टाघरमा एक घण्टा लामो जनचेतना कार्यक्रम सम्पन्न भएको हो, जसको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय बीर्ताले गरेका थिए। कार्यक्रम समृद्धि नेपाल फाउण्डेसनको समन्वयमा आयोजना गरिएको हो।
सवारी चालक तथा पैदल यात्रुहरूलाई ट्राफिक नियमको पालना गर्न प्रेरित गर्ने उद्देश्यले गरिएको कार्यक्रममा विभिन्न सावधानीपूर्ण उपायहरूको प्रत्यक्ष प्रदर्शन गरिएको थियो। सडकमा जेब्राक्रस प्रयोग नगर्ने, मनोमानी ढंगले बाटो काट्ने जस्ता गतिविधि न्यून पार्नुपर्नेमा कार्यक्रमका वक्ताहरूले जोड दिएका थिए।
जिल्ला ट्राफिक प्रहरी प्रमुख लोकराज भट्टका अनुसार सवारी नियमको लापरवाहीले धेरै मानिसले ज्यान गुमाउँदै आएका छन्। “सजग भएर नियम पालना गरेमा ठूलो दुर्घटनाबाट पनि बच्न सकिन्छ,” उनले बताए।
कार्यक्रमका संयोजक दिलिपराज कार्कीले सडक दुर्घटनाबाट हुने मृत्युदर रोगले हुनेभन्दा उच्च रहेको बताए। “हामीले पछिल्लो समय वीरगञ्जका विभिन्न चोकहरूमा नियमित रूपमा ट्राफिक जनचेतनामूलक कार्यक्रम गर्दै आएका छौं,” उनले भने।
समृद्धि नेपाल फाउण्डेसनका अध्यक्ष सुरज सर्राफले स्थानीयस्तरमै जनचेतनाका कार्यक्रम सघन रूपमा सञ्चालन गरेर ट्राफिक दुर्घटना घटाउन सकिने विश्वास व्यक्त गरे।
कार्यक्रममा वडा प्रहरी कार्यालय बीर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईंसहित सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो। यसअघि पनि जेठ ३ गते वीरगञ्जको छपकैयाचोकमा यस्तै कार्यक्रम सम्पन्न गरिएको थियो।
सडक सुरक्षाका लागि गरिएको यो अभियानले स्थानीयमा सकारात्मक सन्देश फैलाउने अपेक्षा गरिएको छ।