निरंजन शाह,
बिरगंज, २८ बैशाख
राजर्षि जनक विश्वविद्यालय, जनकपुरधामबाट सम्बन्धन प्राप्त कलेजहरूमा अध्ययनरत स्नातक तहका विद्यार्थीहरूको पहिलो वर्षको पहिलो सेमेस्टर परीक्षा मर्यादित र अनुशासित ढङ्गले सम्पन्न भइरहेको छ।
उक्त परीक्षा बिरगंजस्थित ब्राइट +२ कलेजमा केन्द्रित गरिएर सञ्चालन गरिएको छ। परीक्षा संचालनको क्रममा स्थानीय प्रशासन, सम्बन्धित कलेज प्रशासन तथा विश्वविद्यालयबीचको समन्वय अत्यन्त सुदृढ देखिएको छ।
चार प्रतिष्ठित कलेज — ममता विद्या मन्दिर, बिरगंज स्कुल अफ ल, सनलाइट +२ कलेज, र गेल्वा किन्ज कलेज — का जम्मा ८४ जना विद्यार्थीहरूले सहभागिता जनाएका छन्। परीक्षा केन्द्रमा उपस्थिति जनाउनका लागि विश्वविद्यालयबाट परीवेक्षकको रूपमा पपु कुमार साह बिरगंज आइपुगेका थिए। त्यस्तै, परीक्षा अनुगमनमा पर्सा जिल्लाका निजी विद्यालय संगठन (पयाब्सन) का नगर अध्यक्ष राहुल श्रीवास्तवको पनि सक्रिय सहभागिता देखिएको थियो।
परीक्षा सुचारु ढङ्गले सञ्चालन हुन सुरक्षा तथा व्यवस्थापन पक्षमा विशेष ध्यान दिइएको थियो। सम्बन्धित कलेजहरूले विद्यार्थीहरूलाई समयमै परीक्षा केन्द्रमा उपस्थिति गराएर समुचित वातावरण सिर्जना गरेका थिए।
विश्वविद्यालय स्रोतका अनुसार विद्यार्थीहरूको अनुशासन, परीक्षा व्यवस्थापन तथा समन्वयकारी भूमिकाले समग्रमा सेमेस्टर परीक्षा सफल र उदाहरणीय भएको ठहर गरिएको छ।


