बाराको विश्रामपुर गाउँपालिका–३ मा शंका लाग्दो अवस्थामासाइकलमा राखेर नेपाल भित्र्याइँदै गरेको झण्डै ४० लाख रुपैयाँ बराबरको ब्राण्डेड इलेक्ट्रोनिक सामान सशस्त्र प्रहरीले शनिबार बिहान नियन्त्रणमा लिएको छ।
शनिबार बिहान करिब ५:३० बजे सशस्त्र प्रहरी बल १२ नम्बर गण, बाराको टोलीले डम्पिङ साइट नजिक साइकलमा राखिएको सामान देखेपछि छानबिन थालेको थियो। प्रहरी देखेपछि सामान बोकेको व्यक्ति साइकल छाडेर फरार भएको थियो।
गणपति खुमबहादुर के.सी.का अनुसार बरामद झोलाभित्र एयरपोड प्रो ९५ थान र टेम्परग्लास १६० थान फेला परेको छ। ती सबै सामानहरू लोकप्रिय ब्रान्डका रहेको र कुल अनुमानित मूल्य ३९ लाख ९२ हजार रुपैयाँ बराबरको रहेको बताइएको छ।
सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज बिष्टको नेतृत्वमा खटिएको टोलीले उक्त सामग्रीहरू हाल आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी गरिरहेको जानकारी दिएको छ।
सिमा क्षेत्र हुँदै अवैध रूपमा सामान ओसारपसारको गतिविधि बढ्न थालेको भन्दै सशस्त्र प्रहरीले निगरानी अझै कडा बनाएको जनाएको छ।


