वीरगञ्ज, पुस ७
न्याय, संविधान र मानव अधिकारको पक्षमा नेपाल बारको अभियान अन्तर्गत बार डे–२०८२ को अवसरमा आज बिहान वीरगञ्जमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।
उच्च अदालत बार एसोसिएसन वीरगञ्ज तथा पर्सा जिल्ला अदालत बार एसोसिएसनको संयुक्त आयोजनामा सम्पन्न प्रभातफेरी वीरगञ्जको घण्टाघर चोकबाट सुरु भई वीरगञ्ज बजार परिक्रमा गर्दै पुनः घण्टाघरमै पुगेर सम्पन्न भएको थियो।
ब्यानर तथा हातमा प्लेकार्ड बोकेर निकालिएको प्रभातफेरीमा बिहान ७ बजेदेखि कानून व्यवसायी, कानून अध्ययनरत विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
प्रभातफेरीका क्रममा सहभागीहरूले न्याय, संविधानको रक्षा तथा मानव अधिकारको सम्मान सम्बन्धी सन्देशमूलक नारा लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए। कार्यक्रममा कानूनको शासन सुदृढ गर्न तथा नागरिकका मौलिक अधिकारको संरक्षणमा बारको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिइएको थियो।
आयोजक संस्थाका पदाधिकारीहरूले बार डे–२०८२ को अवसरमा आयोजना गरिएको यस किसिमको कार्यक्रमले न्यायिक सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।


