शनिबार बिहान गएको ५.२ म्याग्नेच्युडको भूकम्पले बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्रीलाई केन्द्रबिन्दु बनाएर ठूलो क्षति पुऱ्याएको छ। प्रारम्भिक विवरणअनुसार, भूकम्पका कारण १२३ वटा घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्।

वडाध्यक्ष गौरी सार्कीको संयोजनमा वडाको बैठक बसेर प्रभावित घरहरूको विवरण सङ्कलन गरिएको हो। उनले सङ्कलित विवरणलाई सम्बन्धित निकायमा पठाउने निर्णय गरिएको जानकारी दिए। बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याका अनुसार, भूकम्पले करिब डेढ सय घरमा क्षति पुऱ्याएको छ भने त्यसमा केन्द्रबिन्दु क्षेत्रका १२३ घरमा ठुलो क्षति भएको छ।
प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित आवासको व्यवस्था मिलाउन गाउँपालिका र वडास्तरमा पहल भइरहेको छ। बस्नै नसकिने अवस्थामा पुगेका घरका नागरिकलाई सामान्य क्षति भएका घरमा आश्रय दिनसमेत स्थानीय प्रशासनले आग्रह गरेको छ।
पीडित परिवारलाई पाल, त्रिपाल र अन्य राहत सामग्री उपलब्ध गराउन काम थालिएको छ। यसैगरी, देवलकोट माविको शौचालयसहित नौ कोठे भवन र दुधेसिल्ला प्राविको चार कोठे भवन पनि भूकम्पका कारण जोखिममा परेका छन्।
भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत र पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्न सरोकारवाला निकाय सक्रिय रहेको जानकारी प्राप्त भएको छ।


