सर्लाही –
सर्लाहीको बरहथवा नगरपालिका–४ स्थित खैरा टोलमा शनिबार सडक विस्तारको विषयमा स्थानीयबीच चर्किएको विवाद झडपमा परिणत हुँदा दुई सुरक्षाकर्मीसहित १० जना घाइते भएका छन्।
झडप नियन्त्रणमा लिन खोज्दा स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रहरीले एक राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ। भिड नियन्त्रणको प्रयासमा इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक दीवाकर गणेश र वरिष्ठ हवल्दार प्रमेश्वर राय यादव समेत घाइते भएका हुन्।
साथै, स्थानीय टीकाबहादुर कार्की (५०), कुलबहादुर कार्की (५२), रमेश महतो कोहरी (४२), उनकी पत्नी इन्दु देवी (३८), छोराहरू अनिल (२८) र प्रदीपकुमार कुशवाहा (२६), उमेश महतो (३५) र सञ्जय कुशवाहा (३५) समेत झडपमा घाइते भएका छन्।
घटनापछि इन्स्पेक्टर गणेश र सञ्जय कुशवाहालाई प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ भने टीकाबहादुर र कुलबहादुर कार्कीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ। अन्य घाइतेहरुको बरहथवाको नगर अस्पताल र बलरा नगरपालिकाको अचलगढ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।
प्रहरीले घटनापछि अनुसन्धानका लागि पूर्व वडाध्यक्ष लखेन्द्र महतोसहित ७ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूमा शिशिर कार्की, रीता कटुवाल, रञ्जित महतो, सन्तोषकुमार कुशवाहा, अभिषेक महतो र अरविन्दकुमार साह छन्।
खैरा टोलमा १११ मिटर सडक ढलानको काम भइरहेको बेला केही दिनदेखि विवाद चलिरहेको थियो। विगत बिहीबार एक महिलाले सडक ढलानमा असहमति जनाउँदै सडकमै सुत्ने प्रयास गरेकी थिइन्। त्यसपछि विवाद क्रमशः चर्किंदै शनिबार झडपमा पुगेको थियो। झडपका क्रममा दुवै पक्षले बाँसका भाठा र ढुङ्गा प्रहार गरेको दृश्यहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
घटनाबारे जानकारी दिँदै प्रहरी निरीक्षक बालिष्टर सिंहले झडपमा थप क्षति हुन नदिन सुरक्षाकर्मीहरू तुरुन्तै परिचालन गरिएको बताए। हवाई फायरपछि भिड तितरबितर भएको उनले बताए।
बरहथवा–४ का वडाध्यक्ष कृष्णकुमार साहका अनुसार, ढलानको काम प्रहरीको आग्रहमा रोकिएको अवस्थामा झडप सुरु भएको हो। उनले बाहिरबाट आएका व्यक्तिहरूले झडप बढाएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेका छन्।
सडक ढलानका लागि स्थानीय वडाले ७ लाख रुपैयाँ बजेट छुट्याएको थियो। हाल घटनास्थलमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ। स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा रहेको जनाएको छ।


