वीरगञ्ज, २८ पुस ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीमाथि गम्भीर राजनीतिक आरोप लगाएका छन्। पछिल्लो समय प्रधानमन्त्रीको घेरामा जेन–जी आन्दोलनसँग जोडिएका हत्यारा, भ्रष्टाचारी, ठग र अक्षम पात्रहरूसँग नजिकिएको भन्दै उनले आपत्ति जनाएका हुन्।
सोमबार पर्सा क्षेत्र नम्बर–३ को पोखरियामा आजपाले आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै साहले सरकारको कार्यशैलीले जनआक्रोश बढाएको बताए। उनले विगतमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध नरहेको बताउने प्रधानमन्त्री अहिले बालुवाटारमा घण्टौँ लामो भेटघाट र छलफलमा व्यस्त रहेको टिप्पणी गरे।
जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका घटनामा संलग्न दोषीहरू अझै कानुनी कारबाहीको दायरामा नआएकोप्रति साहले असन्तुष्टि व्यक्त गरे। आन्दोलनमा ज्यान गुमाएका शहिदका परिवारले न्याय खोजिरहँदा सरकार भने दोषीहरूसँगै उठबसमा केन्द्रित रहेको उनको आरोप छ।
अध्यक्ष साहले प्रधानमन्त्री कार्कीलाई जेन–जी आन्दोलनको लहर चढेर सत्तामा पुगेकी नेतृ भन्दै ‘आन्दोलन हाइज्याक’ गरेको संज्ञा दिए। उनले कांग्रेस र एमालेलाई आन्दोलनमाथि बल प्रयोग गर्ने दमनकारी शक्ति भनेका छन्। आन्दोलनको भावनालाई कमजोर पार्ने गरी दमनकारी र हाइज्याकरबीच अस्वाभाविक साँठगाँठ भइरहेको उनको दाबी छ।
देशको वर्तमान संकट ठग, भ्रष्ट र गैरजिम्मेवार पात्रहरूबाट समाधान नहुने उल्लेख गर्दै साहले आजपा वैकल्पिक राजनीतिक शक्तिका रूपमा अघि बढ्न तयार रहेको बताए। उनले अहिलेको शासन प्रणाली र संविधान नै मूल समस्या भएको दाबी गर्दै यसको खारेजीबिना मुलुक सही दिशामा नजाने ठोकुवा गरे।
साथै, सरकारपिच्छे लागु हुने मनपरी कर नीति, भन्सारका नाममा हुने अनियमितता र भ्रष्टाचारका कारण राष्ट्रिय अर्थतन्त्र गम्भीर संकटमा परेको उनको भनाइ छ। विशेषगरी तराई–मधेसका सीमावर्ती क्षेत्रमा सरकारी नीतिका कारण सर्वसाधारण नागरिकले अनावश्यक दुःख पाएको उनले बताए।
अध्यक्ष साहले तोकिएको मितिमा निर्वाचन हुनुपर्नेमा जोड दिँदै कुनै पनि बहानामा चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिए। यदि निर्वाचन टार्ने प्रयास भए जनता सडकमा उत्रिन बाध्य हुने उनको भनाइ छ। प्रतिनिधिसभाको निर्वाचन २१ फागुनमै हुनुपर्नेमा उनले जोड दिए।
भेलाले भ्रष्टाचारविरुद्ध खबरदारी गर्ने र लघुवित्त पीडितलाई न्याय दिलाउने उद्देश्यसहित महत्वपूर्ण संगठनात्मक निर्णयसमेत गरेको छ। कार्यक्रम आजपा नेता शिव साहको अध्यक्षतामा सम्पन्न भएको थियो, जसमा लघुवित्त पीडितको आन्दोलनमा सक्रिय मणिराम ज्ञवालीलगायतको विशेष उपस्थिति रहेको थियो।


