Oplus_16908288
प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि चीनका राजदूत छन् सोङबीच बुधबार प्रधानमन्त्री निवास सिंहदरबारमा शिष्टाचार भेट सम्पन्न भएको छ। आफ्नो कार्यकाल समाप्त गरी स्वदेश फर्किन लागेका राजदूत सोङले प्रधानमन्त्रीसँग बिदाइ भेट गरेका हुन्।भेटमा नेपाल–चीन सम्बन्धका विभिन्न पक्ष, आपसी हित र आगामी सहकार्यका सम्भावनाबारे विस्तृत छलफल भएको जनाइएको छ। सो अवसरमा राजदूत सोङले चीन नेपालका लागि विश्वासिलो र निकट मित्र राष्ट्र भएको उल्लेख गर्दै पूर्वाधारदेखि विकासका विविध क्षेत्रमा चीनको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।प्रधानमन्त्री कार्कीले राजदूत सोङलाई सफल कार्यकाल सम्पन्न गरेकोमा धन्यवाद दिँदै आगामी यात्राका लागि शुभकामना व्यक्त गरिन्। उनले नेपाल ‘एक चीन’ नीतिप्रति दृढ प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाली भूमिबाट चीनको राष्ट्रिय हितविरुद्ध कुनै गतिविधि हुन नदिने आश्वासन दिइन्।साथै, चीनबाट विगतझैं आगामी दिनमा पनि नेपालको विकास निर्माणमा सहयोग, समर्थन र साझेदारी कायम रहने अपेक्षा प्रधानमन्त्रीले व्यक्त गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।


