१० पुष, काठमाडौं । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले देशको परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट उहाँले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गरिएको हो । सुरक्षा र कूटनीतिक क्षेत्रमा लामो अनुभव बटुलेका शर्मालाई मन्त्रिपरिषद्मा समेट्नु सरकारको रणनीतिक निर्णयका रूपमा हेरिएको छ। यसअघि प्रधानमन्त्री कार्कीले आफैं सम्हाल्दै आउनुभएको परराष्ट्र मन्त्रालय अब शर्माको नेतृत्वमा सञ्चालन हुनेछ ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, विभिन्न मन्त्रीहरू तथा उच्चपदस्थ सरकारी अधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। पूर्वसेनापति शर्माको नियुक्तिलाई कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।
सेना समायोजन र शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरिसक्नुभएका शर्माले अब नेपालको परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई कसरी अघि बढाउनुहुन्छ भन्ने विषयमा राजनीतिक तथा कूटनीतिक क्षेत्रको ध्यान केन्द्रित भएको छ। उहाँले आजै मन्त्रालयको औपचारिक कार्यभार सम्हाल्ने तयारी गर्नुभएको छ।
आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा मन्त्रिपरिषद् विस्तार गर्दै सरकारद्वारा गरिएको यो नियुक्तिले छिमेकी राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ हुने तथा अन्तर्राष्ट्रिय संवाद थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।


