पर्सा, ५ कात्तिक।
सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म, वीरगञ्जबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा ल्याइएका विभिन्न प्रकारका सामग्रीहरू बरामद गरेको छ।
वीरगञ्ज महानगरपालिका-१६ स्थित ईनर्वा क्षेत्रमा अवैध रूपमा सार्वजनिक सवारी साधनमार्फत नेपालतर्फ ल्याउँदै गरेका किराना सामान, कपडा, कस्मेटिक्स, मोटर पार्ट्स, मोबाइल एसेसोरीज, इलेक्ट्रोनिक्स र मेडिकल सामग्रीहरू बरामद गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ। बरामद सामानहरूको कुल मूल्य करिब रु. १४ लाख ६० हजार ४ सय ४५ रहेको छ, जसलाई आवश्यक कानूनी प्रक्रियाका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
त्यसैगरी, कात्तिक ४ गते बी.ओ.पी. ड्राईपोर्टबाट खटिएको अर्को टोलीले वीरगञ्ज महानगरपालिका-२५ चण्डाल चोकबाट भन्सार छलि ल्याउँदै गरेका रु. १ लाख ६९ हजार ६ सय बराबरको जुत्ता, कपडा र किराना सामान बरामद गरेको थियो। ती सामानहरू पनि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
यसअघि, कात्तिक ३ गते प्र.सी.सु. गुल्म अलौबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका-१९ बर्वा क्षेत्रमा रु. २ लाख २८ हजार ९० बराबरको किराना, इलेक्ट्रोनिक्स सामान, मोटर पार्ट्स, कपडा र खेलौना सामग्री बरामद गरेको थियो, जसलाई पनि वीरगञ्ज भन्सार कार्यालयमा हस्तान्तरण गरिएको थियो।
सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा अवैध तस्करी र अवैध कारोबार नियन्त्रणका लागि निगरानी अझ कडा बनाएको जानकारी दिएको छ।


