पर्सा, वैशाख १८ — हिन्दू धर्मका तेजस्वी योद्धा र न्यायको प्रतीक भगवान श्री परशुरामको जयन्ती तथा अक्षय तृतीया पर्वको अवसरमा पर्सा जिल्लामा बुधवार विशेष शुभकामना कार्यक्रमको आयोजना गरिएको छ।
बृहस्पति फाउन्डेशन नेपालका अध्यक्ष डा. पुरुषोत्तम दुबेको नेतृत्वमा सम्पन्न कार्यक्रममा परशुराम जयन्ती समारोह समिति, पर्साका संयोजक पं. रतनेश तिवारीले समन्वयको भूमिका निर्वाह गरेका थिए। प्रमुख अतिथिका रूपमा देवनाथ उपाध्यायको उपस्थिति रहेको सो कार्यक्रममा ब्राह्मण समाज नेपाल, पर्साका अध्यक्ष कामेश्वर मिश्र सभापति थिए।
कार्यक्रममा वक्ताहरूले भगवान परशुरामको तपस्या, साहस र सामाजिक योगदानको चर्चा गर्दै यस्ता धार्मिक आयोजनाले सांस्कृतिक जगेर्ना र सामाजिक सद्भाव अभिवृद्धिमा टेवा पुर्याउने विचार व्यक्त गरे।
धार्मिक गुरुहरू, समाजसेवी, शैक्षिक क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी, महिला र युवाहरूको सक्रिय सहभागितामा सम्पन्न सो कार्यक्रममा मन्तव्यपश्चात प्रसाद वितरण तथा सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरियो।
आयोजक संस्थाहरूले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा अझ विविध कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका छन्।


