बीरगञ्ज, माघ ११
पर्सा मदिरा व्यवसायी संघको प्रथम वार्षिक साधारण सभा संघको सञ्चालक समितिको निर्णयअनुसार आज वीरगञ्जको आदर्शनगरस्थित होटल पूजनमा सम्पन्न भएको छ।
संघका अध्यक्ष चिनिलाल पटेलको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम सहभागी थिए भने नेपाल बार एकाइ पर्साका अध्यक्ष रामनारायण कुर्मी विशिष्ट अतिथि रहेका थिए। कार्यक्रममा संघका सल्लाहकार कपिलेश्वर यादव, पत्रकार तुलसी भण्डारीलगायत वक्ताहरूले संघलाई थप सुदृढ र संगठित बनाउँदै व्यवसायको संरक्षण, प्रवर्द्धन र विकासमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।
सभामा उपाध्यक्ष सन्दीप कुमार गुप्ताले स्वागत मन्तव्य राखेका थिए। महासचिव प्रदीप कुमार लोहारले संघको सांगठनिक प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष राकेश कुमार साहले आर्थिक वर्ष २०८०/८१ को आय–व्यय विवरण तथा लेखापरीक्षण प्रतिवेदन पेश गरेका थिए।
त्यसैगरी आगामी आर्थिक वर्ष २०८१/८२ का लागि संघको नीति, कार्यक्रम र वार्षिक बजेट प्रस्तुत गरी आवश्यक छलफलपछि अनुमोदन गरिएको संघले जनाएको छ।
सभामा संघ दर्ता नवीकरण, नयाँ लेखापरीक्षक नियुक्ति, विभिन्न समितिमा रिक्त पद पूर्ति, आवश्यक परे विधान संशोधन तथा संगठनात्मक मजबुतीसम्बन्धी प्रस्तावहरू समेत पेश गरिएका थिए। मदिरा व्यवसायसँग सम्बन्धित समसामयिक चुनौती, कर प्रणाली, प्रशासनिक जटिलता, व्यवसायीहरूको हकहित संरक्षण र बजार व्यवस्थापनका विषयमा पनि गहन छलफल भएको थियो।
सभाको बन्द सत्रबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। चयन अनुसार अध्यक्षमा चिनिलाल पटेल, उपाध्यक्षमा सन्दीप कुमार गुप्ता, महासचिवमा प्रदीप कुमार लोहार, सचिवमा रबिन्द्र प्रताप साह र कोषाध्यक्षमा राकेश कुमार साह चयन भएका छन्। सदस्यहरूमा मनिष प्रसाद कलवार, अनिल कुमार चापागाईं, राम कुमार यादव र रञ्जित जैसवाल रहेका छन्।
कार्यक्रमका अवसरमा सहभागी सबै सदस्य तथा प्रतिनिधिहरूलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो।
संघले यस वार्षिक साधारण सभालाई महत्वपूर्ण नीति निर्माण र भावी कार्यदिशा तय गर्ने अवसरका रूपमा लिएको जनाएको छ। सभाबाट व्यवसायीहरूको साझा आवाजलाई अझ प्रभावकारी बनाउँदै आगामी दिनमा संघलाई थप सक्रिय बनाइने विश्वास व्यक्त गरिएको छ।


