बिरगंज, पर्सा – बिरगंज स्थित माइस्थानमा नेपाल ट्रेड युनियन काङ्ग्रेस पर्साको कार्यालयमा नेपाल स्वास्थ्यकर्मी संघको राष्ट्रिय अध्यक्ष रामजी घिमिरेको नेतृत्वमा केन्द्रीय प्रतिनिधिहरू र स्थानीय स्वास्थ्यकर्मी नेताहरूबीच महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल ट्रेड युनियन काङ्ग्रेस पर्साका अध्यक्ष छोटेलाल प्रसाद साह, सचिव हरेन्द्र महतो, कोषाध्यक्ष पुरन साह कानु, नेपाल व्यापार संघ पर्साका अध्यक्ष विशेश्वर पटेल, स्वास्थ्यकर्मी संघ पर्साका अध्यक्ष सृजना चौधरीसहित कार्यसमितिका अन्य पदाधिकारीहरूको उपस्थिति थियो।
छलफलका क्रममा स्वास्थ्यकर्मीहरूको हकहित, पेशागत चुनौती, र सामाजिक सुरक्षाका विषयमा गहन विचार-विमर्श गरिएको थियो। अध्यक्ष घिमिरेले स्वास्थ्यकर्मीहरूको अवस्था सुधारका लागि संघको भुमिका र आगामी योजना प्रस्तुत गर्दै सबै पक्षको सहकार्य अपरिहार्य भएको बताए।
कार्यक्रममा सहभागीहरूले स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायसँग समन्वय गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए। छलफल सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।


