प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको सम्बन्धलाई बौद्ध धर्मले एक मजबुत र चम्किलो धागोका रूपमा बाँधेर राखेको बताएका छन्।
काठमाडौंमा आयोजित नवौँ नानहाई बौद्ध सम्मेलनको फोरमलाई सम्बोधन गर्दै उनले दुई देशको सम्बन्ध आध्यात्मिक र सांस्कृतिक साझेदारीमा आधारित रहेको बताए। उनले भने, “बौद्ध धर्मको यस योगदानले नेपाल र चीनबीचको सम्बन्धलाई अझ गहिरो बनाउँदै समझदारी र सद्भावको बलियो बन्धन सिर्जना गरेको छ।”

प्रधानमन्त्री ओलीले नेपाल र चीनको सम्बन्ध केवल सीमामा मात्र सीमित नरहेको, अपितु सांस्कृतिक, ऐतिहासिक र प्राकृतिक साझेदारीमा आधारित रहेको पनि उल्लेख गरे। “हामी दुई देश एक अर्काको पहाड, नदी, र सम्पदामार्फत गहिरो मित्रताको धागोले जोडिएका छौं,” उनले थपे।
बौद्ध धर्मको सेतु: नेपाल र चीन
गौतम बुद्धको पवित्र जन्मभूमि नेपालले चीनसँगको बौद्ध सम्पर्कलाई ऐतिहासिक रूपमा सुदृढ बनाएको ओलीले बताए। उनले चिनियाँ भिक्षुहरू फा जियान र जुआन जाङले नेपाल भ्रमण गरेर ज्ञानको आदानप्रदानलाई थप जीवन्त बनाएको स्मरण गरे। त्यसैगरी, नेपालका विद्वान बुद्धभद्रले चीन भ्रमण गरी सांस्कृतिक पुल निर्माण गरेको पनि प्रधानमन्त्रीले उल्लेख गरे।
सांस्कृतिक स्मारक र शैक्षिक सहकार्य
प्रधानमन्त्री ओलीले चीनमा नेपाली शैलीका बौद्ध मन्दिर र नेपालमा झोङ हुआ चिनियाँ बौद्ध मठले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई अझ बलियो बनाएको बताए। साथै, लुम्बिनी बौद्ध विश्वविद्यालय र चीनको नानहाई बौद्ध एकेडेमीबीचको सहकार्यले ज्ञानको आदानप्रदानलाई अझ सुदृढ बनाएको उनले जनाए।
प्रधानमन्त्री ओलीले नेपाल र चीनका बौद्ध समुदायहरूबीचको मित्रतालाई यो सम्मेलनले अझ सुदृढ बनाउने र दुई देशका साझा लक्ष्यहरूको प्राप्तिमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे।


