वीरगञ्ज, २७ वैशाख
“रक्तदान गरी गरौं जीवनदान” भन्ने नाराका साथ नेपाल इनोभेटिभ सोसाइटी पर्साले शनिबार वीरगञ्जको माईस्थान पार्कमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख गणेश अर्याल सहभागी भएका थिए भने सोसाइटीका अध्यक्ष कमल चौगाईंको सभापतित्व रहेको थियो। विशिष्ट अतिथिका रूपमा रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेलले रक्तदानको महत्त्वमाथि प्रकाश पारे।

रक्तसञ्चार केन्द्र वीरगञ्जको प्राविधिक टोली—सौरभराज पाण्डे, जितेन्द्र कुश्वाहा र मनिष गुप्ताको सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा ६ महिलासहित कुल ५९ जनाले रक्तदान गरेका थिए। रक्तदातामा अस्मिता थापा, पूजा खत्री, ईसा बराल, समिक्षा लिंका, शोभा बस्नेत र आयोजक अध्यक्ष स्वयं कमल चौगाईंको सहभागिता उल्लेखनीय रह्यो।
कार्यक्रम संयोजक डा. प्रीती यादव थिइन्। उनीसँगै उपाध्यक्ष निर्मल खत्री, सदस्यहरू हरि गुप्ता, लालबाबु चौधरी आदिको सक्रियता पनि प्रशंसनीय रह्यो।
कार्यक्रममा रेडक्रस सोसाइटी रेशमकोठीका युवा संयोजक अभिलाष गुप्ताको विशेष उपस्थिति रहँदा समाजसेवी प्रकाश उपाध्याय, प्रकाश चौधरी, राजेन्द्र भट्टराई, नारायणी अस्पतालकी हेमा थापा र कल्पना पौडेल, उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, ग्रीनसिटी सामुदायिक प्रहरीका अध्यक्ष प्रकाश खेतान लगायतको उपस्थिति रहेको थियो।
समाजसेवाको भावनाले प्रेरित यस रक्तदान कार्यक्रमलाई सहभागिहरूले भविष्यमा पनि निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका थिए।


