
पौष २५, बिरगंज
नेपाल आयल निगमले आफ्नो ५५औं वार्षिकोत्सवको अवसर पारेर मानवसेवा आश्रमलाई न्यानो कपडा र वाशिङ मेसिन प्रदान गरेको छ। बिहीबार सम्पन्न एक विशेष कार्यक्रममा निगमले ३० थान कम्बल र एक थान वाशिङ मेसिन सहयोग स्वरूप प्रदान गरेको हो।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल प्रमुख अतिथि रहनुभएको थियो। साथै, नेपाल आयल निगम बिरगंज शाखाका प्रमुख रमेश ज्ञवाली, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी निरीक्षक दिपेन्द्र मल्ल, बिरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतम, मानवसेवा आश्रमका अभिभावक प्रकाश थारु तथा उद्योगपति गणेश लाठ लगायतको उपस्थिति रहेको थियो।


प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चिसोको समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका यस्ता सहयोगले आश्रममा बसोबास गर्नेहरूलाई चिसोबाट राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा मानवसेवा आश्रमकी प्रमुख मुना पुलामी र समाजिक अभियन्ता ओम झाको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन मानवसेवा आश्रमका संस्थापक अध्यक्ष देवेशले गर्नुभएको हो।
यस सहयोग कार्यक्रमले समाजमा सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ भने, आश्रमलाई आवश्यक सामग्री प्रदान गरि थप सहयोगको अपेक्षा गरिएको छ।


