काठमाडौं : गृह मन्त्रालयले निर्वाचन प्रचार–प्रसारका क्रममा राष्ट्रिय झण्डाको गलत प्रयोग गरिएको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको छ। मन्त्रालयले आज सार्वजनिक गरेको विज्ञप्तिमा निर्वाचन आचारसंहिता २०८२ को प्रावधान उल्लंघन भए कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको हो।
आचारसंहिताको परिच्छेद ४ अन्तर्गत दफा १३ को खण्ड (न) अनुसार दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो अभियान वा कुनै पनि प्रकारको र्यालीमा बढीमा १० वटा राष्ट्रिय झण्डा मात्र प्रयोग गर्न पाउने व्यवस्था छ। सो सीमाभन्दा बाहिर निर्वाचन प्रचारका अन्य गतिविधिमा राष्ट्रिय झण्डा प्रयोग गर्न नपाइने उल्लेख गरिएको छ।
मन्त्रालयले राष्ट्रिय झण्डाको प्रयोग मर्यादित, व्यवस्थित र सम्मानजनक बनाउन “राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि, २०६९” कार्यान्वयनमा रहेको स्मरण गराएको छ। कार्यविधिमा झण्डाको आकार, फहराउने तरिका, प्रयोग गर्ने विधि तथा निषेधित कार्यहरू स्पष्ट रूपमा उल्लेख छन्।
कार्यविधि अनुसार राष्ट्रिय झण्डाको अपमान हुने कुनै पनि गतिविधि गर्न वा गराउन निषेध गरिएको छ। झण्डा उल्टो राख्ने, च्यात्ने, जलाउने, फ्याँक्ने, पोको पार्ने, व्यापारिक वा विज्ञापन प्रयोजनमा प्रयोग गर्ने, शरीरको छातीभन्दा तलको भागमा झण्डाको प्रतीक प्रयोग गर्ने लगायतका कार्य पूर्ण रूपमा वर्जित छन्।
यसका साथै प्रमुख जिल्ला अधिकारीलाई आफ्नो कार्यक्षेत्रभित्र राष्ट्रिय झण्डाको प्रयोग कार्यविधिअनुसार भए–नभएको विषयमा नियमित अनुगमन गर्ने जिम्मेवारी तोकिएको छ।
त्यस्तै, मुलुकी अपराध संहिता २०७४ को दफा १५१ अनुसार राष्ट्रिय झण्डाको अपमान हुने कार्य वा सार्वजनिक नैतिकता र शिष्टाचार विपरीत झण्डा प्रयोग गरे सजायको व्यवस्था समेत रहेकाले सबै पक्षलाई सचेत रहन गृह मन्त्रालयले आग्रह गरेको छ।


