काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई किफायती र पारदर्शी बनाउने उद्देश्यसहित निर्वाचन आयोगले स्वदेशमै उत्पादित सामग्रीको प्रयोगलाई प्राथमिकतामा राखेको छ।
आयोगका अनुसार निर्वाचन व्यवस्थापनमा प्रयोग हुने सामग्रीमध्ये सम्भव भएसम्म नेपाली उत्पादन प्रयोग गरिनेछ। यस नीतिले एकातिर खर्च नियन्त्रणमा सहयोग पुग्ने र अर्कोतिर स्थानीय उद्योग तथा उत्पादनलाई प्रोत्साहन मिल्ने विश्वास आयोगले लिएको छ।
निर्वाचनका क्रममा करिब ५१ प्रकारका सामग्री आवश्यक पर्नेमा तीमध्ये ३७ प्रकार प्रदेश र जिल्लास्तरमै खरिद गरी प्रयोग गरिने व्यवस्था गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। बाँकी १४ प्रकारका सामग्री भने केन्द्रबाट खरिद गरिनेछ।
केन्द्रस्तरका अधिकांश सामग्री खरिद ‘जिटुजी’ अवधारणाअनुसार साल्ट ट्रेडिङ कम्पनीमार्फत गरिँदै आएको छ। आयोगका अनुसार यसपटक नयाँ सामग्री खरिदमा करिब ६ करोड ७५ लाख रुपैयाँ मात्र खर्च गरिएको छ भने बाँकी आवश्यक सामग्री अघिल्ला निर्वाचनबाट बचेको स्टकलाई पुनः प्रयोगमा ल्याइएको छ।
आयोगले फागुन २१ गते हुने निर्वाचनको तयारी तीव्र बनाएको छ। सो निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता, दाबी–विरोध तथा निर्वाचन चिह्न वितरणसम्बन्धी सबै कार्यक्रम निर्धारित समयमै सम्पन्न भइसकेका छन्।


