CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तह र ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ प्रभावकारी रूपमा लागू गर्न औपचारिक निर्देशन पठाएको छ।
मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलद्वारा जारी परिपत्रअनुसार निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि लागू गरेको आचारसंहिता आफ्ना–आफ्ना कार्यक्षेत्रमा कडाइका साथ कार्यान्वयन गराउन स्थानीय तह र जिल्ला समन्वय समितिलाई अनुरोध गरिएको छ। सोही अनुरूप सम्बन्धित निकायहरूले पनि आचारसंहिता लागू गराउने प्रक्रिया अघि बढाइसकेका छन्।
सरकारले यसअघि २०८२ साल पुस १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै निर्वाचन आचारसंहिता सार्वजनिक गरेको थियो। निर्वाचन आयोगले अर्को सूचना जारी नहुँदासम्मका लागि उक्त आचारसंहिता लागू रहने स्पष्ट पारेको छ।
माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन र आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आचारसंहिता लागू गरिएको हो। मन्त्रालयले आवश्यक जानकारी तथा कार्यान्वयनका लागि भन्दै सबै स्थानीय तह र जिल्ला समन्वय समितिको ध्यानाकर्षण गराएको जनाएको छ।
निर्वाचन आचारसंहितामा विशेष गरी परिच्छेद १०, अनुसूची ५ र दफा ५५ समेटिएको उल्लेख गर्दै ती प्रावधानहरूको पालना सुनिश्चित गर्न मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ।


