
चितवन, तनहुँ, र नवलपरासीको त्रिवेणी देवघाटको बेनीमा आजदेखि माघे सङ्क्रान्ति मेलाको शुभारम्भ भएको छ। नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती र महेश सन्यास आश्रमका पीठाधीश रमणानन्द गिरीको उपस्थितिमा मेला सुरु भएको जानकारी देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले दिए। मेलामा विभिन्न आश्रमका सन्तमहन्त, भक्तजन, र स्थानीयको उल्लेखनीय उपस्थिति रहेको छ।

मेला आरम्भसँगै टाढाटाढाबाट भक्तजनको आगमन सुरु भएको छ। त्रिशूली र कालीगण्डकीको संगमस्थल देवघाटमा माघे सङ्क्रान्तिका अवसरमा स्नान गर्नका लागि विशेष तयारी गरिएको छ। परम्पराअनुसार पुसको अन्तिम दिनदेखि नै यहाँ मकर स्नान मेला सुरु हुन्छ। धार्मिक मान्यता अनुसार यस दिन त्रिशूली र कालीगण्डकीको संगमस्थलमा स्नान गर्दा विशेष पुण्य प्राप्त हुने विश्वास गरिन्छ। नेपाल मात्र नभई भारतबाट पनि ठूलो संख्यामा भक्तजन देवघाटमा स्नान गर्न आउने गर्दछन्। धार्मिक कथन अनुसार, माघे सङ्क्रान्तिमा देवताहरू पनि यहाँ स्नान गर्न आउने बताइन्छ।

माघे सङ्क्रान्ति मेलाको पहिलो रातमा देवघाटमा भक्तजन जाग्राम बस्ने परम्परा छ। सौरमासको हिसाबले माघे सङ्क्रान्तिबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ। यसलाई ‘मकर सङ्क्रान्ति’ भनिन्छ। धार्मिक मान्यता अनुसार, यस दिनदेखि सूर्य दक्षिणी गोलार्द्धबाट उत्तरी गोलार्द्धतर्फ प्रवेश गर्ने हुँदा दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ।

‘भविष्य पुराण’, ‘विष्णुवचन’, र ‘धर्मसिन्धु’ जस्ता ग्रन्थमा उल्लेख भएअनुसार यस दिन पवित्र तीर्थमा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो, र मकल सहितको सिदा दान गरेमा पुण्य प्राप्त हुने विश्वास छ। साथै, यी पदार्थ सेवन गर्दा स्वास्थ्यमा लाभ हुने मान्यता छ। नेपाल र भारतका भक्तजनहरू यो दिन स्नान गर्न देवघाटमा आउने गर्छन्।


