चितवन, मंसिर २८-
नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत दासढुंगामा गएराति खाली ट्रक र कुखुरा बोकेको बोलेरो जुध्दा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट नवलपरासीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २५२४ नम्बरको खाली ट्रक र चितवनबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश ०१–०३१ च ०११३ नम्बरको बोलेरो बिहीवार राति ११ः४० बजे एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा उदयपुरका ३६ वर्षीय भीम कटुवालको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राति १२ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। कुखुरा बोकेको बोलेरोका चालक, दोलखाका २६ वर्षीय राम तामाङ गम्भीर घाइते भएका छन्। उनको टाउको, छाती र अनुहारमा चोट लागेको छ र हाल चितवन मेडिकल कलेजमै उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न ट्रकका चालक, रौतहट चन्द्रपुर नगरपालिका–६ निवासी २४ वर्षीय सन्तोष चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


