
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसँग स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनसम्बन्धी बयान तीन दिनमा सकिएको छ। अनुसन्धान अधिकृत र सरकारी वकिलको टोलीले लामिछानेसँग ७४ प्रश्नको सामना गराएको छ।

अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीका अनुसार सोमबार साँझ उनको बयान सकिएको हो। मंसिर १४, १६, र १७ गतेका दिन लामिछानेसँग सहकारीको रकम अपचलनबारे बयान लिइएको थियो। काठमाडौंका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठको कार्यकक्षमा उक्त बयान सम्पन्न भएको हो।
७४ प्रश्नमा केन्द्रित बयान
अनुसन्धान अधिकृतहरूले लामिछानेसँग सहकारीबाट लिएको ऋण, फिर्ता भएको रकम र बाँकी रहेको रकमका विषयमा प्रश्न गरेका थिए। उनीहरूले ७४ प्रश्न सोधेको र लामिछानेले ती सबै प्रश्नको जवाफ दिएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताएका छन्।
सहकारीको रेकर्डअनुसार, लामिछाने र जीबी राईले २०७८ भदौ ४ गते ‘फोर ह्विलर लोन’को रूपमा ४६ लाख ९८ हजार रुपैयाँ निकालेका थिए। उक्त रकममध्ये ३२ लाख २१ हजार फिर्ता नभएको पाइएको छ। त्यसैगरी, २०७८ कात्तिक १ गते ‘ईको सेभेन सिटर भ्यान’ खरिदका लागि ४६ लाख ८८ हजार रुपैयाँ ऋण लिएकोमा २९ लाख ५२ हजार फिर्ता भएको छैन।
भौचर र प्रमाणको आधारमा बयान
प्रहरीले स्वर्णलक्ष्मी सहकारीको कार्यालयबाट ३५ थान भौचर बरामद गरेको छ। ती प्रमाणका आधारमा लामिछानेसँग प्रश्न गरिएको हो। प्रहरीका प्रारम्भिक अनुसन्धानअनुसार स्वर्णलक्ष्मी सहकारीबाट १ अर्ब ११ करोड रुपैयाँ निक्षेप अपचलन भएको पाइएको छ। सहकारीमा जम्मा २ अर्ब ६५ करोड ९५ लाख रकम २७ हजार निक्षेपकर्ताले राखेको रेकर्डमा उल्लेख छ।
लामिछानेको बयान सकिएपछि अब यस मामिलामा थप अनुसन्धान अघि बढाइने अनुसन्धान अधिकारीहरूले जानकारी दिएका छन्।


