काठमाडौं, साउन ७ – प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेस क्षेत्रको खानेपानी तथा सिँचाइ अभावलाई तत्काल समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले मधेसमा देखा परेको खडेरी तथा सुख्खाको समस्या समाधानका लागि आपतकालीन ढंगमा काम थालिएको जानकारी दिए।
उनले मन्त्रिपरिषद्को आजको निर्णय सार्वजनिक गर्दै मधेस प्रदेशलाई औपचारिक रूपमा प्राकृतिक विपद् प्रभावित क्षेत्रको रूपमा घोषणा गरिएको जानकारी दिए। प्रधानमन्त्री ओलीले भने, “सिंचाइ र खानेपानी अभाव समाधान गर्न सम्पूर्ण सरकारी संयन्त्र परिचालन हुनेछ। यस कार्यमा सरकारले कुनै पनि कसर बाँकी राख्ने छैन।”
उनका अनुसार देशको एक भाग पहाडमा वर्षा र बाढीको असर खेपिरहेको छ भने अर्कोतर्फ तराई-मधेस खडेरीको चपेटामा परेको छ। “दुवै प्रकारका समस्याको सन्तुलित समाधान आवश्यक छ,” उनले जोड दिए, “अब अल्पकालीन मात्र होइन, दीर्घकालीन उपाय पनि खोज्नुपर्ने आवश्यकता देखिएको छ।”
प्रधानमन्त्री ओलीले आवश्यक परेमा ‘डिप बोरिङ’ जस्ता वैकल्पिक उपाय तत्काल सञ्चालन गरिने बताए। विपद् क्षेत्र घोषणा भएपछि सामग्री ढुवानी, बजेट विनियोजन तथा उपकरण प्रयोगमा सहजता हुने उनले स्पष्ट पारे।
“सरकारको मूल लक्ष्य स्थिरता र विकास हो। चुनौतीहरूबीच पनि देशलाई समृद्धितर्फ लैजान दृढ छौं,” प्रधानमन्त्रीले भने।
सरकारले मुलुकभर देखापरेका विपद् र चुनौतीसँग जुध्न एकीकृत प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै संसद्मार्फत जनतालाई आश्वस्त बनाउने प्रयत्न गरेको छ।


