
निरन्जन शाह ,
काठमाडौँ। जितपुरसिमरा उपमहानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत सरुवासम्बन्धी विवाद अन्ततः टुंगिएको छ। सर्वोच्च अदालतले उर्मिला काफ्लेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयविरुद्ध दायर गरेको रिट खारेज गर्दै नयाँ प्रमुख प्रशासकीय अधिकृतको नियुक्तिको बाटो खुला गरिदिएको छ।
सर्वोच्चका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले काफ्लेको ०८१–डब्लु ओ–००१६ नम्बरको रिटलाई खारेज गरिदिएको हो। यसअघि, मन्त्रालयले श्रावण ३ गतेको निर्णयमार्फत काफ्लेको काज फिर्ता गरी चेतकुमार पोखरेललाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा जितपुरसिमरा पठाएको थियो। काफ्लेले उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
त्यस्तै, काफ्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयविरुद्ध पनि अर्को रिट दर्ता गरेकी थिइन्, जसमा मन्त्रालयका सहसचिव वीरन्द्र भारतीलाई भाद्र २७ गते रिक्त सहसचिवको दरबन्दीमा पठाउने निर्णयविरुद्ध सर्वोच्च अदालतको अवहेलना भएको दाबी गरिएको थियो। तर, उक्त रिटलाई पनि अदालतले “माग दाबी नपुगेको” भन्दै खारेज गरिदिएको छ।
सर्वोच्चले दुवै रिट खारेज गरेसँगै जितपुरसिमरामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको नियुक्तिको बाटो खुलेको छ। अब चेतकुमार पोखरेलको पदस्थापनाको प्रक्रिया अगाडि बढ्ने देखिएको छ भने उर्मिला काफ्लेले उपमहानगरपालिकाको जिम्मेवारी छोड्नुपर्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पछिल्लो निर्णय अनुसार, वीरन्द्रदेव भारतीलाई सहसचिवको दरबन्दीमा पुनः पठाउने सम्भावना पनि देखिएको छ। यस घटनाले स्थानीय प्रशासनिक संरचनामा नयाँ परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।



