रौतहट — सर्लाहीका एसपी योगेन्द्रकुमार खड्काविरुद्ध सार्वजनिकरूपमा अपशब्द प्रयोग गरेपछि पक्राउ पुर्जी जारी भएका जनता समाजवादी पार्टी (जसपा)का मधेस प्रदेश नेता तथा पूर्व प्रदेशसभा सदस्य अशोक कुमार यादवको पुरानो आपराधिक पृष्ठभूमि बाहिर आएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको विवरणअनुसार, यादव विगत लामो समयदेखि चोरी, दुर्व्यवहार र ज्यान मार्ने प्रयासजस्ता जघन्य अभियोगमा मुछिँदै आएका थिए। प्रहरीको अभिलेखअनुसार, उनीविरुद्ध पटक–पटक मुद्दा दर्ता भएका छन् र केही घटनामा प्रत्यक्ष संलग्नताका प्रमाणसमेत फेला परेका छन्।
प्रहरीद्वारा प्रकाशित विवरणमा उल्लेख गरिएका घटनाहरू:
- २०५७ पुस ८: मलंगवा–१० स्थित जिल्ला कृषि विकास कार्यालयका कर्मचारी नथुनी साहमाथि दुर्व्यवहार र हातपात।
- २०६६ असोज १०: सलेमपुरको जिल्ला शिक्षा कार्यालयको सरकारी गाडी तोडफोड गरी १ लाख ५० हजार रुपैयाँ लुटिएको आरोप।
- २०७२ पुस ५: जिल्ला प्रशासन कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर तोडफोड, कर्मचारीमाथि अपमानजनक व्यवहार।
- २०७२ फागुन ५: मदिरा सेवन गरी प्रहरीमाथि गालीगलौज।
- २०७३ साउन १३: मलंगवास्थित सिँचाइ कार्यालयका कर्मचारीलाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की।
- २०७३ मंसिर २९: प्रहरी चेकिङमा अवरोध, गालीगलौज र शारीरिक आक्रमण प्रयास।
- २०७७ जेठ २७: चक्रघट्टामा जमिनसम्बन्धी विवादका क्रममा राज नारायण रायलाई कुटपिट, ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दर्ता।
एसपी खड्कामाथि प्रयोग गरिएको अभद्र भाषा सम्बन्धी घटनापछि प्रहरीले अनुसन्धान थालेको थियो। सोही क्रममा यादवको अघिल्लो आपराधिक गतिविधिहरू सार्वजनिक गरिएको हो।
प्रहरीका अनुसार हाल पनि उनीमाथि थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिको भूमिका पनि अनुसन्धानको दायरामा ल्याइएको छ।


