जनकपुर । मिथिलाको परम्परागत पोशाकलाई संरक्षण गर्दै त्यसलाई प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका युवाहरूले धोती, कुर्ता र सारी जुलुसको आयोजना गरेका छन्।
मिथिलाको मौलिक पहिरनप्रति पछिल्ला पुस्ताहरूमा घट्दो आकर्षणलाई पुनःस्थापित गर्न र युवाहरूमा यसको महत्वको बोध गराउन यो जुलुस निकालिएको हो। जनकपुरधाममा आयोजित यस जुलुसमा सयौं युवाहरू धोती, कुर्ता र सारीमा सजिएर सहभागी भएका थिए। सहभागीहरूले जनकपुरको सुप्रसिद्ध जानकी मन्दिरमा पुगेर त्यहाँको परिक्रमा पनि गरे।
जुलुसमा सहभागी सुमित जलानले मिथिलाको परम्परागत संस्कृति र वस्त्र युवाहरूले नै जोगाउनु पर्ने भएकाले यस अभियानमा सहभागी भएको बताए। उनले यो जुलुसलाई अभियानकै रूपमा विस्तार गर्ने योजना रहेको पनि जनाए।
धोती, कुर्ता र सारी अभियानका मुख्य संयोजक मोहन महतो कोइरीले यस अभियानलाई विगत ७ वर्षदेखि निरन्तर चलाउँदै आइरहेको र यस पटक अभियानलाई जनकपुरका हरेक छठ घाटसम्म पुर्याउने योजना रहेको जानकारी दिए। उनले आगामी छठ पर्वको समयमा युवाहरूले धोती कुर्ता लगाएरै घाटमा पुग्न अपिल गरे।
जुलुसमा सहभागी विनिता महतोले युवतीहरूमा सारीको आकर्षण रहे पनि आधुनिकताले यसको परम्परागत शैलीलाई प्रभाव पारेकोमा चिन्ता व्यक्त गरिन्। उनले युवतीहरूलाई मिथिलाको परम्परागत शैलीमा सारी लगाउन प्रेरित गरिन्।


