२९ माघ, वीरगञ्ज । पानीको उचित निकास नहुँदा डुबानमा परेको वीरगञ्ज महानगरपालिकाका चारवटा वडाको धान खेतमा किसानले खेती गर्न नपाएको गुनासो गरेका छन् । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १७, २४, २५ र २६ मा पर्ने खेतहरु पानी निकास नहुँदा गएको बर्षामा डुबानमा परेको थियो ।त्यहि डुबानको पानी अहिलेसम्म नसुक्दा किसानले यो बर्ष गहुँखेती गर्नै नपाएको गुनासो गरेका हुन् । धान रोपाई गरेपछि डुबानमा परेको चारवटा वडाका खेतहरु वीरगन्ज महानगरपालिकाको जेसीबीले नाला खनेर पानीको आस्थायी निकास दिएपनि त्यसले वडावासीहरुको खेतको पानी सुक्न पाएको छैन । अहिलेपनि दुईसय विगाह खेतमा पानी जमेको छ ।
बर्षाकै पानी अहिलेसम्म नसुक्दा चारवटै वडाका किसानले हिँउदेबाली गहुँ लगाउन नपाएको गुनासो गरेका छन् । वीरगन्ज एकीकृत भन्सार जाँचचौकी र ड्राईपोर्टदेखि पथलैयासम्म निर्माण गरेको ६ लेनको व्यापारिक मार्गको छेउको नाला खेतको सतहभन्दा माथि बनाईएको, महानगरका वडाहरुमा जथाभावी जग्गाहरु प्लटिङगर्दा पानीको निकास हुने ठाउँ परिएको र नहरबाट आउने पैनी पनि सडक निर्माण र प्लटिङ गर्ने क्रममा पुरिँदा पानीको निकास नभएर खेतमै जमेको स्थानीयले बताएका छन् ।
अहिले सुक्खा मौसममै पानीको निकासको लागि व्यावस्था नगरे आउने बर्षायाममा फेरी चारवटा वडाको धान खेत र वस्ती नै डुबानमा पर्ने चिन्ताले वडावासीलाई सताएको छ । डुबान प्रभावित क्षेत्रको सोमबार संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य सहित सञ्चारकर्मीहरुको टोलीले पनि स्थलगत अनुगमन गरेका छन् ।
अमात्यले चारवटै वडाको डुबान प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेपछि त्यसको तत्कालिन निकास र दीर्घकालिन निकासका लागि सम्बन्धित निकायसँग पहल गर्ने आश्वासन दिएका छन् । यसअघि प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल सहितको सुरक्षा निकायको टोलीले पनि प्रभावित क्षेत्रमा पुगेर निरीक्षण गरेका छन् ।उनीहरुले पनि खेतमा जमेको पानीको निकासका लागि उचित पहल गर्ने बताएको स्थानीयले बताएका छन् । डुबान प्रभावित क्षेत्र चरवटा वडाका गउँहरु श्रीसिया,सुगौली आठराहा ,बहुअरी र आलौको जनताहरु विगत ६ महिना देखि जनप्रतिनिधिहरुसंग समस्याको समाधान गर्न लगायतार माग गर्दै आईरहेका छन् ।
अव्यवस्थित सहरीकरण, जथाभावी गरिएको प्लटिङ र हचुवामा गाउँलाई महानगपालिकामा गाभेपछि खेतीयोग्य जग्गा वसोवासमा परिणत भएपछि पानी निकास हुने ठाउँहरु थुनिएका छन । जसको परिणाम स्वरुप वीरगञ्ज महानगरपालिकाको चारवटा वडामा रहेको २ भन्दा वढी जग्गाहरु केहि बर्ष देखि डुबानमा पर्दै आएको छ ।


