वीरगञ्ज, पर्सा — वीरगञ्जको आदर्शनगरमा सञ्चालित “रेनरेनले सुपरमार्केट” मा चिनियाँ नागरिकहरूद्वारा भिसाको दुरुपयोग गर्दै अवैध रूपमा व्यापार सञ्चालन भइरहेको आरोप लागेको छ। यस विषयमा राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाउँदै गम्भीर ध्यानाकर्षण गराएका छन्।
ज्ञापनपत्र अनुसार, स्थानीय व्यापारी देवकी अग्रवालको घरमा सञ्चालित सुपरमार्केटमा दुई जना चिनियाँ नागरिक— जियांग लि र एन मिङ— प्रत्यक्ष रूपमा बिक्री काउन्टरमै बसेर व्यापार गरिरहेका छन्। यद्यपि पसलको कागजी स्वामित्व नेपाली नागरिक तिलक बहादुर खड्काको नाममा रहेको छ, तर वास्तविक सञ्चालन र सम्पूर्ण लगानी चिनियाँ नागरिककै रहेको उजागर गरिएको छ।
राष्ट्रिय एकता अभियानले यसलाई चार तहमा गम्भीर समस्या मानेको छ:
- स्थानीय व्यापारमा असर – नेपाली व्यापारीहरू घाटामा चलिरहेका बेला विदेशीले महँगो भाडामा व्यापार गर्नु अस्वाभाविक भएको उल्लेख गरिएको छ।
- सीमा सुरक्षामा खतरा – भारतसँगको खुला सीमाको फाइदा उठाउँदै वीरगञ्जजस्तो संवेदनशील क्षेत्रमा यस्ता गतिविधि हुनुले सुरक्षा चुनौती खडा गरेको बताइएको छ।
- भिसा दुरुपयोग – पर्यटक भिसामा आएर प्रत्यक्ष व्यापार गर्नु कानुन विपरीत भएको र पछि व्यापार भिसामा स्वामित्व लुकाएर सञ्चालन गर्नु कानुनी छिद्रको दुरुपयोग भएको जनाइएको छ।
- कानुनी प्रणालीमा चुनौती – नेपालीको नाममा दर्ता गरिए पनि चिनियाँहरूले व्यापार सञ्चालन गर्नुले कानुनी प्रक्रियाको अवहेलन भएको उल्लेख छ।
ज्ञापनपत्रमा चारवटा प्रमुख मागहरू राखिएको छ:
चिनियाँ नागरिकहरूको भिसा तथा कागजात छानबिन गरी अवैध पाइएमा कारबाही,
व्यवसायको वास्तविक लाभ प्राप्तकर्ता (beneficial owner) को पहिचान गरी कम्पनी खारेजी वा रोक,
सीमा क्षेत्रमा निगरानी प्रणाली सुदृढीकरण,
स्थानीय व्यापारीको संरक्षण र विदेशी व्यापार नियन्त्रणको नीति कडाइ।
अध्यक्ष विनय यादवले राष्ट्रको स्वाभिमान, स्थानीय व्यवसायको अस्तित्व, र भूराजनीतिक संवेदनशीलता मध्यनजर गर्दै तत्काल ठोस कदम चालिनु पर्ने बताएका छन्।


