काठमाडौँबाट भद्रपुरतर्फ उडेको बुद्ध एयरको एटीआर–७२ विमान शुक्रबार राति चन्द्रगढी विमानस्थलमा अवतरण गर्ने क्रममा रनवेको पूर्वपट्टि नियन्त्रण बाहिर गई घाँसे झाडी र माटोमा फसेको छ।
एन–एएमएफ कलसाइन रहेको उक्त जहाजमा ५१ यात्रु, ४ जना चालक दलका सदस्य र एक जना इन्जिनियर गरी कुल ५६ जना सवार थिए। विमान काठमाडौँबाट राति ८:२३ बजे उडेको थियो भने करिब ९:१० बजे अवतरणका क्रममा दुर्घटनामा परेको हो। जहाज रनवेबाट करिब १५० देखि ३०० मिटर अगाडि बढेर बाहिर पुगेको प्रारम्भिक जानकारी छ।
दुर्घटनापछि जहाजमा आगलागी नभएकाले ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ। यात्रुहरू झ्याल तथा ढोका फुटाएर बाहिर निस्किएका थिए। घटना लगत्तै जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बूको नेतृत्वमा खटिएको करिब ७० जनाको टोलीले सबै यात्रु तथा चालक दललाई सुरक्षित रूपमा उद्धार गरेको थियो। प्रहरीका अनुसार हालसम्म कुनै मानवीय क्षति भएको छैन।
यद्यपि, दुर्घटनामा को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठसहित सात जना घाइते भएका छन्। घाइते हुनेहरूमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौँ–१६ की ४० वर्षीया मुना घतानी र १६ वर्षीया प्रिया घतानी रहेका छन्।
घाइतेहरूलाई तत्काल ओमसाई पाथिभरा अस्पताल पुर्याइएको थियो। को–पाइलट श्रेष्ठको टाउको र अनुहारमा चोट लागेको छ भने अन्य छ जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन्।
विमानस्थल प्रमुख किशोरकुमार खत्रीका अनुसार प्रारम्भिक निरीक्षणमा जहाजको ककपिट, प्रोपेलर, नोज भाग र बाहिरी लिभरीमा क्षति देखिएको छ। तर पखेटा, टेल भाग र ल्यान्डिङ गियरमा भने गम्भीर क्षति नदेखिएको उनले जानकारी दिए।
बुद्ध एयरले घटनाको विस्तृत छानबिनमा नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पूर्ण सहयोग गर्ने जनाएको छ। एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा घाइते यात्रुहरू उपचारपछि सुरक्षित रूपमा घर फर्किएको उल्लेख गर्दै उद्धारमा खटिएका नेपाल प्रहरी, नेपाली सेना, उड्डयन प्राधिकरण तथा आफ्ना कर्मचारीहरूप्रति धन्यवाद व्यक्त गरिएको छ।
क्यानका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णको नेतृत्वमा १८ सदस्यीय प्राविधिक टोली आवश्यक उपकरणसहित भद्रपुर जाने तयारीमा रहेको छ। टोलीमा सेफ्टी निर्देशनालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र एरोनोटिकल इन्जिनियरसहित बुद्ध एयरका प्राविधिकहरू पनि सहभागी रहनेछन्।
तराई क्षेत्रमा बाक्लो हुस्सुका कारण दृश्यता कम भएकाले उद्धार तथा प्राविधिक उडानमा ढिलाइ हुन सक्ने जनाइएको छ। टोलीले जहाज तान्ने, क्षतिको मूल्यांकन गर्ने तथा सम्भावित जोखिम न्यूनिकरणका काम गर्नेछ।
दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु भइसकेको छ। घटनाका कारण केही उडान प्रभावित भएका छन् भने विमानस्थलको प्राविधिक अवस्था र उडान व्यवस्थापनबारे पनि थप अध्ययन भइरहेको प्रहरीले जनाएको छ।


