पर्सा, फागुन २३ – गौतम मा.वि. का संचालक सोनम लामाले व्यक्तिगत वैमनस्यताका कारण साइबर अपराधको झूटा मुद्दा लगाई संघका अध्यक्ष सन्दीप साहलाई फसाउन खोजेको अभिभावक संघले आरोप लगाएको छ। संघले एक विज्ञप्ति जारी गर्दै यस्तो कार्यलाई अनैतिक र निन्दनीय भन्दै कडा विरोध जनाएको छ।
विज्ञप्तिमा उल्लेख गरिएअनुसार, विद्यार्थी तथा अभिभावकहरूको हकहितका लागि सक्रिय रहँदै आएका अध्यक्ष साहलाई नियोजित रूपमा मुद्दामा फसाई पक्राउ गराइएको छ। संघले साहको शीघ्र रिहाइको माग गर्दै विद्यालय प्रशासनलाई यस घटनाको सम्पूर्ण जिम्मेवारी लिन चेतावनीसमेत दिएको छ।
यसै क्रममा, संघले फागुन २४ गते शनिबारका लागि तय गरिएको रक्तदान कार्यक्रम हालको परिस्थितिलाई मध्यनजर गर्दै स्थगित गरिएको जानकारी गराएको छ। अध्यक्ष साहको निरन्तर सक्रियताले केही विद्यालय सञ्चालकहरू असन्तुष्ट भएको र उनीहरूकै चलखेलमा अध्यक्षलाई फसाउन खोजिएको दाबी संघले गरेको छ। संघका सचिव वीरेंद्र साहद्वारा जारी विज्ञप्तिमा यदि अध्यक्ष साहको शीघ्र रिहाइ नभए उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी गौतम विद्यालय प्रशासनले लिनुपर्ने चेतावनी पनि दिइएको छ।


