
वीरगञ्ज – नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले झापा जिल्लाका विभिन्न क्षेत्रमा निर्माण भइरहेका खानेपानी परियोजनाहरूको स्थलगत अवलोकन गर्दै प्रगतिबारे जानकारी लिएका छन्। उनले परियोजनाहरू समयमै सम्पन्न गर्न निर्देशन दिँदै सरकारको प्रमुख दायित्व गुणस्तरीय खानेपानी सेवा सबैमा पुर्याउनु रहेको बताए।
शनिबार मन्त्री यादवले झापाको मेचीनगर र धुलाबारीस्थित निर्माणाधीन खानेपानी ओभर हेड ट्याङ्कीहरूको निरीक्षण गरे। उनले सम्बन्धित निकायलाई काममा तीव्रता ल्याई निर्धारित समयभित्रै सम्पन्न गर्न विशेष ध्यान दिन आग्रह गरे। साथै, उपभोक्ताहरूलाई स्वच्छ र सुरक्षित पानी उपलब्ध गराउने लक्ष्यलाई प्राथमिकतामा राख्न जोड दिए।
त्यसैगरी, सुरुङ्गास्थित सुरुङ्गा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र मोरङको पथरीस्थित खानेपानी उपभोक्ता संस्थाका पदाधिकारीहरूसँग छलफल गर्दै मन्त्री यादवले स्थानीय स्तरमा देखिएका समस्या र चुनौतीहरूको समाधानका लागि सरकारले निरन्तर सहयोग गर्ने आश्वासन दिए। “गुणस्तरीय खानेपानी सेवा नागरिकको मौलिक अधिकार हो। यो सरकारको प्रमुख दायित्व भएकाले आवश्यक नीति तथा कार्यक्रममार्फत यो सुनिश्चित गर्न सरकार लागिपरेको छ,” मन्त्री यादवले भने।
मन्त्री यादवले झापाको मेचीनगरमा रहेको चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था र काँकरभीट्टास्थित खानेपानी उपभोक्ता संस्थाको समेत स्थलगत अनुगमन गरे। त्यसैगरी, झापामा निर्माणाधीन दिसाजन्य लेदो व्यवस्थापन परियोजना र सरसफाइ व्यवस्थापन परियोजनाको समेत उनले निरीक्षण गरे।
मन्त्री यादवले देशभर देखिएका खानेपानीसम्बन्धी समस्या समाधान गर्न सरकार निरन्तर क्रियाशील रहेको र स्थलगत अनुगमनमार्फत योजना तथा परियोजनाको प्रगतिबारे प्रत्यक्ष जानकारी लिन कटिबद्ध रहेको बताए। उनले दिगो, भरपर्दो र स्थायी पानी आपूर्ति सुनिश्चित गर्न सरकारी, निजी क्षेत्र तथा अन्य साझेदारहरूसँग सहकार्यलाई थप मजबुत बनाउने प्रतिवद्धता जनाए।


