
गाजा सिटी ।
इजरायली हवाई आक्रमणले बिहीबार गाजाका दक्षिणी क्षेत्रमा त्रास फैलाएको छ। गाजाको नागरिक सुरक्षा एजेन्सीका अनुसार रफाह र खान युनुसमा सहायता ट्रकहरूको सुरक्षामा खटिएका १२ गार्डसहित कम्तीमा ३३ जनाको मृत्यु भएको छ।
एजेन्सीका प्रवक्ता महमुद बासलले भने, “रफाहमा सात र खान युनुसमा पाँच गार्ड मारिएका छन्। कब्जा पक्षले सहायता ट्रकहरूको सुरक्षामा रहेका व्यक्तिहरूमाथि पुनः लक्षित आक्रमण गरेको छ।” आक्रमणमा बालबालिका पनि प्रभावित भएका छन्, र करिब ३० जना घाइते भएका छन्।
बासलका अनुसार, आक्रमणको बेला युएनआरडब्लुईएद्वारा शरणार्थीका लागि पठाइएका पिठो बोकेका ट्रकहरू गोदामतर्फ जाँदै थिए। उनले भने, “गाजाका नागरिकहरूसम्म आवश्यक सेवा र राहत पुर्याउनै नदिने कब्जाको योजना हो।”
यसैबीच, इजरायली सेनाले दक्षिण गाजाको मानवीय कोरिडोरमा उपस्थित सशस्त्र हमास लडाकूमाथि ‘सटीक आक्रमण’ गरिएको दाबी गरेको छ। सेनाले विज्ञप्तिमा भनेको छ, “आक्रमणमा मारिएका सबै आतङ्ककारी हमासका सदस्य थिए, जसले मानवीय सहायता ट्रक अपहरण गरी हमासलाई हस्तान्तरण गर्ने योजना बनाएका थिए।”
युद्धपछिको गम्भीर मानवीय अवस्थाबारे संयुक्त राष्ट्रसङ्घलगायत सहायता एजेन्सीहरूले बारम्बार चेतावनी दिइरहेका छन्। उनीहरूका अनुसार गाजामा १४ महिनाभन्दा लामो द्वन्द्वका कारण मानिसहरू अत्यन्तै दयनीय अवस्थामा छन्।
युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घको आग्रहको केही घन्टापछि यो आक्रमण भएको हो। गाजाको अवस्था दिन प्रतिदिन झन् गम्भीर बन्दै गइरहेको छ।


