
वीरगञ्ज, असार ११ — ऐतिहासिक तथा धार्मिक दृष्टिले विशेष मान्यता पाएको वीरगञ्जस्थित श्री गहवा माई मन्दिरमा यही असार १३ गते भव्य रथ यात्रा सम्पन्न गरिने तयारी अन्तिम चरणमा पुगेको छ।
रथ यात्राको तयारीलाई तिव्रता दिँदै श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिका सदस्यहरू तथा वीरगञ्ज महानगरपालिकाका नगर प्रहरीहरू मिलेर आज रथलाई मन्दिर परिसरमा स्थानान्तरण गरी सजावटको कार्य सुरु गरेका छन्। रथ महानगरपालिकाको वारुणयन्त्र कार्यालयमा सुरक्षित रूपमा राखिएको थियो।
श्री गहवा माई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा हुने यस वर्षको रथ यात्रा विविध सांस्कृतिक र धार्मिक कार्यक्रमले समेटिनेछ। समितिका अनुसार, असार १४ गते छपन्न भोग सहितको महाप्रसाद भण्डारा समेत आयोजना गरिनेछ।
समितिले रथ यात्रालाई व्यवस्थित र आकर्षक बनाउने उद्देश्यले विभिन्न कार्य संयोजनका लागि उपसमितिहरू गठन गरेको छ। यसपालिको रथ यात्रा विशेष बाजागाजा, सांस्कृतिक झाँकी, परम्परागत नृत्य, लोककला प्रदर्शनीजस्ता प्रस्तुतीहरूले भरिपूर्ण हुने बताइएको छ।
गहवा माई मन्दिरलाई दीर्घकालीन रुपमा पर्यटकीय स्थलको रूपमा स्थापित गर्ने लक्ष्य समितिले अघि सारेको छ। त्यसै सन्दर्भमा यस रथ यात्रामा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्ने कार्यक्रम समेत तय गरिएको छ।
समितिका अध्यक्ष श्याम कुमार पोखरेलले सम्पूर्ण श्रद्धालु र भक्तजनहरूलाई रथ यात्रामा सक्रिय सहभागिता जनाई धार्मिक, सांस्कृतिक र सामाजिक सद्भावको सन्देश फैलाउन आग्रह गरेका छन्।