वीरगञ्ज, ८ मंसिर: संघीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले बाराको महागढीमाई नगरपालिका–१ स्थित प्रसिद्ध गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
गढीमाई मन्दिरमा मंसिर १ गतेदेखि सुरू भएको ऐतिहासिक मेलाको अवलोकनका क्रममा मन्त्री चौरसियाले मन्दिरको विकास र संरक्षणका लागि सरकारबाट आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए। उनले गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा स्थान दिलाउन आवश्यक प्रक्रिया अघि बढाउने र यसका लागि दिगो योजनाको खाका तयार पार्ने बताए।
धर्मशालाको अभाव र अन्य पूर्वाधारको आवश्यकता औंल्याउँदै उनले गढीमाई मन्दिरको व्यवस्थापनलाई थप प्रभावकारी बनाउन बृहत्तर गढीमाई विकास समिति गठनको प्रस्ताव गरे। मन्त्रीले मन्दिर क्षेत्रमा आधुनिक सुविधासहितको धर्मशाला निर्माण गर्नुपर्नेमा जोड दिए।
गढीमाई मेलाको व्यवस्थापनबारे मेला समितिका पदाधिकारीहरूसँगको छलफलमा मन्त्री चौरसियाले मेलाको सफलताका लागि संघीय सरकारको पूर्ण समर्थन रहेको बताए। पाँच वर्षमा एक पटक लाग्ने गढीमाई मेलाले भक्तजनको मनोकामना पूरा गर्ने विश्वास दिलाउँदै, उनले मन्दिर विकासका लागि सरकारी बजेट सुनिश्चित गर्न आवश्यक कदम चालिने प्रतिवद्धता दोहोर्याए।
गढीमाई मन्दिरको धार्मिक, सांस्कृतिक, र ऐतिहासिक महत्वलाई विश्वमञ्चमा स्थापित गर्न सरकारलाई थप सक्रिय हुनुपर्नेमा स्थानीयबासीहरूले समेत जोड दिएका छन्।


