३० चैत, वीरगञ्ज । सखुवा प्रसौनी गाउँपालिका–५ मा रहेको ऐतिहासिक गढीमाई मन्दिरको पुनःनिर्माण कार्य शनिबारबाट औपचारिक रूपमा सुरु गरिएको छ। मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले २५ लाख रुपैयाँको अनुमानित लागतमा निर्माण हुने मन्दिरको शिलापूजन गरेका हुन्।
कार्यक्रममा मन्तव्य राख्दै मन्त्री जयसवालले गढीमाई मन्दिरको धार्मिक तथा सांस्कृतिक महत्वबारे प्रकाश पारे। “यो मन्दिर यस क्षेत्रका जनताको आस्था र श्रद्धाको प्रतीक हो,” उनले भने, “हरेक दिन यहाँ महिला दिदीबहिनीहरु पूजाआजा गर्न आउँछन्, यसको महत्त्व दिनप्रतिदिन बढ्दै जानेछ।”
जयसवालले मन्दिरको भौतिक पूर्वाधार निर्माणसँगै यसको संरक्षण र व्यवस्थापनमा पनि बराबर ध्यान दिनुपर्ने बताएका छन्। “मन्दिर निर्माण मात्र पर्याप्त छैन, यसको दीर्घकालीन संरक्षण अत्यावश्यक छ,” उनले थपे।
पुनःनिर्माण कार्य सुरु भएपछि स्थानीयवासीमा उत्साह छाएको छ। उनीहरुले यसले धार्मिक पर्यटनमा समेत सकारात्मक टेवा पुर्याउने विश्वास व्यक्त गरेका छन्।


