दक्षिण-पश्चिम कोलम्बियाको राजमार्गमा भएको गम्भीर बस दुर्घटनामा कम्तीमा १३ जनाले ज्यान गुमाएका छन्। यात्रुवाहक बस अनियन्त्रित भएर गहिरो खाडलमा खस्दा यो घटना भएको हो।


स्थानीय अधिकारीका अनुसार, ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने थप दुईजनाको उपचारका क्रममा अस्पतालमा ज्यान गएको हो। यस दुर्घटनामा २८ जना यात्रु घाइते भएका छन्, जसमध्ये केहीको अवस्था चिन्ताजनक रहेको छ।
दुर्घटना भएको बस पर्यटकको समूहलाई लिएर काली सहरबाट इक्वेडरको सीमा क्षेत्रमा रहेको धार्मिक स्थलतर्फ जाँदै थियो। प्रारम्भिक अनुसन्धान अनुसार, बसमा अचानक आएको प्रविधिक गडबडीका कारण गाडी नियन्त्रण बाहिर गएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।
यद्यपि, दुर्घटनाको वास्तविक कारण पहिल्याउन थप अनुसन्धान जारी रहेको अधिकारीहरूले जनाएका छन्। उक्त घटनाले कोलम्बियामा सडक सुरक्षाका मापदण्डप्रति गम्भीर प्रश्न खडा गरेको छ।


