काठमाडौं, मंसिर २ – काठमाडौंमा स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार राति काठमाडौं महानगरपालिका-९ स्थित सिनामंगल शम्भुमार्गको सडकबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ दोभानपुल निवासी ४६ वर्षीय राज कुमार माली, नयाँ बानेश्वर बस्दै आएका १८ वर्षीय एक किशोर, शान्तिगोरेटो बस्ने झापाका अर्जुनधारा नगरपालिका-७ निवासी ३२ वर्षीय प्रवेश कुमार पौडेल, र झापाका बिर्तामोड नगरपालिका-५ निवासी २७ वर्षीय युवराज सुवेदी रहेका छन्।
प्रहरी वृत्त गौशलाबाट खटिएको टोलीले प्रदेश-३–०१०२२ च १९७२ नम्बरको कार जाँच गर्दा उक्त नगद बरामद गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा ती व्यक्तिहरूले रकमको वैधानिक स्रोत खुलाउन नसकेको प्रहरीले जानकारी दिएको छ।
हाल उनीहरूविरुद्ध अनुसन्धान जारी रहेको र बरामद गरिएको नगदसम्बन्धी थप जानकारी खोजी भइरहेको प्रहरीले जनाएको छ।


