रवि भुजेल,
सामाजिक सञ्जालमा हाल कक्षा १२ को परीक्षा स्थगित गरिएको भन्दै एक सूचना तीव्र रूपमा फैलिरहेको छ। उक्त सूचनामा राष्ट्रिय परीक्षा बोर्ड (NEB) को लेटरहेड प्रयोग गरिएको छ र ११ वैशाखदेखि सुरु हुने भनिएको परीक्षा स्थगित भएको दाबी गरिएको छ।

तर बोर्डले त्यसप्रकारको कुनै निर्णय नगरेको स्पष्ट पारेको छ। बोर्डका अनुसार सार्वजनिक रूपमा फैलाइएको सो सूचना आधिकारिक नभएको र त्यसले विद्यार्थी तथा अभिभावकमा भ्रम सिर्जना गर्ने काम मात्र गरेको हो।
“हामीले कक्षा १२ को परीक्षा तालिका अनुसार सञ्चालन गर्ने तयारी गरिरहेका छौं,” परीक्षा बोर्डका एक अधिकारीले भने, “सोहीअनुसार परीक्षा सञ्चालनमा कुनै परिवर्तन छैन।”
बोर्डले विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई यस्ता भ्रामक सूचनाबाट सचेत रहन र आधिकारिक जानकारी मात्र बोर्डको वेबसाइट वा विश्वसनीय माध्यममार्फत प्राप्त गर्न आग्रह गरेको छ।
यसबाहेक, बोर्डले गलत सूचना फैलाउने व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी पनि दिएको छ।
परीक्षा तालिका अनुसार १२ कक्षा अन्तर्गतका वार्षिक परीक्षा ११ वैशाखदेखि सुरु हुने छन्।


