
२ पुस, काठमाडौं — नेकपा एमालेको नयाँ केन्द्रीय नेतृत्व चयन गर्न काठमाडौंको भृकुटीमण्डपमा मतदान प्रक्रिया चलिरहेको छ। महाधिवेशन प्रतिनिधिहरू मतदान गर्न लाइनमा उभिएका छन् भने नेताहरू र समर्थकहरू आ–आफ्ना समूहका उम्मेदवारका पक्षमा मत माग्दै सक्रिय देखिएका छन्।
नेतृत्व प्रतिस्पर्धामा केपी शर्मा ओली र ईश्वर पोखरेल समूहले छुट्टाछुट्टै प्यानल प्रस्तुत गर्दै चुनावी मैदानमा उत्रिएका छन्। दुवै पक्षका समर्थकहरूले आफ्नो प्यानलका उम्मेदवारहरूको सूची प्रतिनिधिहरूलाई वितरण गर्दै समर्थन जुटाउने प्रयास गरिरहेका छन्।
यही क्रममा मतदान केन्द्र वरपर अव्यवस्थित गतिविधि भएको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार अछामका शंकर सावदलाई नियन्त्रणमा लिइएको हो। सावदले प्यानलका उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोप एमालेका कार्यकर्ताहरूले लगाएका छन्।
प्रहरीले सावदलाई नियन्त्रणमा राखी घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएको छ। मतदान प्रक्रिया भने सुरक्षा सतर्कताबीच निरन्तर चलिरहेको छ।


