वीरगञ्ज । चिसो मौसम बढ्दै जाँदा गरिब तथा विपन्न वर्गलाई सहयोग पुर्याउने उद्देश्यले इनर व्हील क्लब अफ वीरगञ्जले वीरगञ्जस्थित कपडा बैंकलाई न्यानो कपडा प्रदान गरेको छ । क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत १५ पोका न्यानो कपडा कपडा बैंकलाई हस्तान्तरण गरेको हो।
कपडा हस्तान्तरण कार्यक्रममा इनर व्हील क्लब अफ वीरगञ्जकी अध्यक्ष मञ्जुरी श्रेष्ठ, सचिव नीलम बेहाउत, उपाध्यक्ष प्रीति गुप्ता तथा सदस्यहरू रोशिता श्रेष्ठ, भगवान श्रेष्ठ, प्रियंका झा र सरिता यादवको सहभागिता रहेको थियो। त्यस्तै, वीरगञ्ज कपडा बैंकका सचिव कन्हैया पटेल, सल्लाहकार प्रकाश उपाध्याय र निलाराम पनि कार्यक्रममा उपस्थित थिए।
कार्यक्रमका अवसरमा क्लबका पदाधिकारीहरूले संकलित न्यानो कपडा कपडा बैंकका सचिव कन्हैया पटेललाई औपचारिक रूपमा हस्तान्तरण गरे। सो अवसरमा बोल्दै अध्यक्ष मञ्जुरी श्रेष्ठले जाडो मौसममा असहाय, गरिब र विपन्न समुदायलाई न्यानो कपडाको आवश्यकता अत्यधिक हुने भएकाले मानवीय सेवाको भावनाले यो सहयोग गरिएको बताइन् । उनले यस्ता सामाजिक कार्यलाई आगामी दिनहरूमा पनि निरन्तर अगाडि बढाइने प्रतिबद्धता व्यक्त गरिन् ।
कपडा बैंकका सचिव कन्हैया पटेलले इनर व्हील क्लब अफ वीरगञ्जप्रति धन्यवाद ज्ञापन गर्दै प्राप्त न्यानो कपडा वास्तविक आवश्यकता भएका व्यक्तिहरूसम्म पुर्याइने जानकारी दिए । समाजमा सहयोग, सहकार्य र मानवताका मूल्यलाई मजबुत बनाउने यस्ता संस्थागत पहलहरू प्रेरणादायी हुने उनको भनाइ थियो ।


