ओखलढुङ्गा — पछिल्ला केही वर्षयता ओखलढुङ्गा जिल्लामा चट्याङका कारण ठूला मानवीय र भौतिक क्षति भएका छन्। जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ सम्मको अवधिमा १२ जनाले ज्यान गुमाएका छन् भने २४ जना घाइते भएका छन्।
साथै, चट्याङका कारण लाखौँ रुपैयाँ बराबरको भौतिक सम्पत्तिमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय कार्कीका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा मात्र दुई जनाले ज्यान गुमाएका छन् भने १० जना घाइते भएका छन्।
चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्ममा मात्रै तीन जना घाइते भएका र १० वटा चौपायाले ज्यान गुमाएको प्रहरीको तथ्यांकमा उल्लेख छ। त्यस्तै, विभिन्न विद्युतिय उपकरणमा समेत उल्लेख्य क्षति पुगेको छ।
गत वर्ष २०८०/८१ मा मात्रै ६ स्थानमा चट्याङ पर्दा दुई जनाको मृत्यु र सात जना घाइते भएका थिए। उक्त वर्षमा तीन घरसमेत प्रभावित भएका थिए भने पाँच वटा चौपाया मरेका थिए।
जिल्लामा अन्य प्राकृतिक विपद्सँग तुलना गर्दा चट्याङबाट हुने क्षति न्यूनीकरणतर्फ स्थानीय तह र सम्बन्धित निकायको ध्यान नपुगेको देखिएको छ। चट्याङबाट जोगिन अपनाउनुपर्ने उपायहरूको पर्याप्त जानकारी सर्वसाधारणमा अभाव देखिन्छ भने ‘अर्थिङ’ जस्ता रोकथाम विधिहरूको पनि प्रभावकारी अभ्यास नभएको पाइएको छ।
जिल्लाका सञ्चालित एफएम रेडियो र अन्य विद्युतीय संस्थाहरूले पनि हरेक वर्ष चट्याङका कारण ठूलो आर्थिक क्षति व्यहोर्नु परिरहेको छ। यस विषयमा थप सचेतना र पूर्वतयारी आवश्यक देखिन्छ।
रासस


