
३१ बैशाख,
नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि रोकिएको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) अन्ततः खोल्ने निर्णय गरेको छ। सोमबार बसेको सञ्चालक समिति बैठकले कुल ५४ वटा जलविद्युत् आयोजनासँग पीपीए प्रक्रिया अगाडि बढाउने निर्णय लिएको हो, जसबाट करिब ५ हजार मेगावाट विद्युत उत्पादन हुने अनुमान गरिएको छ।
प्राधिकरणका अनुसार १८५९ मेगावाट बराबरका बहावमा आधारित आयोजना (आरओआर) र ३१०७ मेगावाट क्षमताका अर्धजलाशययुक्त आयोजना (पीआरओआर) का लागि पीपीए प्रक्रिया सुरु गरिएको हो।
यससँगै, प्राधिकरणले मंगलबार सार्वजनिक सूचना जारी गर्दै पहिल्यै कनेक्टिविटी एग्रिमेन्ट गरिसकेका तर पीपीए नपाएका आयोजना संचालकलाई सम्झौता प्रक्रिया सुरु गर्न आह्वान गरेको छ।
“सम्बन्धित आयोजनाहरूले ३० दिनभित्र अद्यावधिक कागजात तथा विवरणसहित विद्युत व्यापार विभागमा सम्पर्क गर्नु पर्नेछ,” सूचनामा उल्लेख छ।
यसअघि विद्युत प्राधिकरण पीपीए खुलाउन अनिच्छुक देखिएको थियो। तर, हालै नियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङको सक्रियतामा सञ्चालक समितिको पहिलो बैठकबाटै पीपीए खोल्ने निर्णय आएको हो।
यो निर्णयसँगै दीर्घकालीन ऊर्जा विकासको मार्ग खुल्ने र लगानीकर्ताको उत्साह बढ्ने प्राधिकरणले विश्वास लिएको छ।