काठमाडौं । संगीत, सांस्कृतिक सम्पदा, र सिर्जनशील विचारहरूको आदानप्रदान गर्ने उद्देश्यले २१ देशका सयभन्दा बढी कलाकारहरू काठमाडौंमा भेला हुने भएका छन्। ‘ग्लोमस क्याम्प’ भनिने अन्तर्राष्ट्रिय कार्यशालामा सहभागी हुन ती देशका ३१ विश्वविद्यालयका संगीत, नृत्य, नाटक, र कला प्राध्यापक नेपाली राजधानीमा उपस्थित हुनेछन्।
आगामी आइतबारदेखि १० दिनसम्म काठमाडौंको गोकर्ण रिसोर्टमा यो कार्यशाला सञ्चालन हुनेछ। नेपाल संगीत विद्यालय ट्रस्टका प्राचार्य शिशिर उप्रेतीले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै कार्यशालामा सहभागी हुन विदेशी कलाकारहरूको आगमन क्रम जारी रहेको बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले कार्यशालाको उद्घाटन गर्ने तयारी गरिएको छ। यस कार्यशालामा सहभागी कलाकारहरूले प्रशिक्षण लिने र आफ्नो कलाको प्रदर्शन गर्नेछन्। कार्यशालाको मुख्य उद्देश्य सृजनशील विचार, संगीत, र सांस्कृतिक सम्पदाको आदानप्रदान गर्नु रहेको आयोजकहरूले बताएका छन्।
ग्लोमसले सन् २००७ मा मोजाम्बिकमा पहिलो क्याम्प आयोजना गरेको थियो। त्यसपछि घाना, तान्जानिया, मलेसिया, ब्राजिल, र डेनमार्कजस्ता देशहरूमा पनि यस कार्यक्रमको आयोजन गरिएको थियो। यसपटक नेपालमा यो कार्यक्रम हुन लागेको हो।
आयोजकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ग्लोमसले सिर्जनशील नागरिकताको बहसलाई प्रोत्साहन मात्र गर्दैन, विद्यार्थी र प्राध्यापकहरूलाई नयाँ अवसरहरू पनि प्रदान गर्दछ।’ यो कार्यक्रमले विश्वभरका कलाकारहरूलाई समान अवसर दिने र उनीहरूलाई सिर्जनशील नागरिकताका हकदार मान्नका लागि वकालत गर्दछ।
नेपालबाट पनि २०० भन्दा बढी कलाकारहरूले यस कार्यशालामा भाग लिने जनाइएको छ। ग्लोमसले विद्यार्थी केन्द्रित शिक्षालाई प्रवर्द्धन गर्नुका साथै विभिन्न देशका विद्यार्थीहरू बीचको साझेदारीलाई पनि मद्दत पुर्याउने लक्ष्य राखेको छ।


