
अभिलाष गुप्ता
बिरगंज,२९ बैशाख
१२ मे नर्सहरूको योगदानलाई सम्मान गर्न मनाइने अन्तर्राष्ट्रिय नर्सिङ दिवसको २०५ औं संस्करणको अवसरमा बिरगंज नर्सिङ कलेजले एक विशेष कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा फलफूल वितरण तथा दीप प्रज्वलन गरिँदै बिरामीप्रति माया र सद्भाव प्रकट गरिएको थियो।
कार्यक्रम बिरगंज नर्सिङ कलेजकी अध्यक्ष डा. कल्पना पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दास प्रमुख अतिथिको रूपमा सहभागी थिए। विशिष्ट अतिथिको रूपमा वडा नम्बर ४ का वडा अध्यक्ष जगदिश प्रसाद साह, साथै श्रुती शाह (ब.अ.न.प्र. नारायणी अस्पताल), हेमा थापा, राम नरेश कुशवाहा (उपाध्यक्ष, नारायणी अस्पताल), पाशुपति जयस्वाल (केन्द्रीय सदस्य, NAN), कमला ढकाल, शर्मिला महर्जन, शुभद्रा चौधरी (कोषाध्यक्ष), र रुबी शाह लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम अन्तर्गत नारायणी अस्पतालका प्रसूति वार्ड, सर्जिकल वार्ड, पि.आई.सि.यु. वार्ड तथा बच्चा वार्डमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो। यस कार्यले बिरामीहरूमा आत्मबल र मनोबल बढाएको प्रतिक्रिया प्राप्त भएको छ।
कार्यक्रममा बिरगंज नर्सिङ कलेजका विद्यार्थी तथा नर्सहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उनीहरूले दीप प्रज्वलन कार्यक्रममार्फत नर्सिङ पेशाप्रति समर्पण, सेवा र करुणाको भावना अभिव्यक्त गरेका थिए।
डा. कल्पना पौडेलले नर्सहरूको अतुलनीय सेवा र योगदानलाई सम्झँदै भनिन्, “नर्सिङ पेशा केवल पेसा होइन, यो एक सेवाभाव र समर्पणको उदाहरण हो।” उनले सम्पूर्ण नर्सहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा अझ समर्पणका साथ सेवामा लाग्न प्रेरणा दिइन्।
कार्यक्रमले नर्सहरूको योगदानलाई सम्मान गर्दै समुदायमा सकारात्मक सन्देश फैलाएको छ।