
काठमाडौं, १५ वैशाख – अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ११ जिल्लाबाट २१ जनालाई पक्राउ गरेको छ। सिआइबीले वैशाख ७ गतेदेखि १३ गतेसम्म सञ्चालन गरेको विशेष अपरेशन अन्तर्गत पर्सालगायत विभिन्न जिल्लाका व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।
सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार, पक्राउ परेकामध्ये तीन जना पर्साका छन् भने अन्य मोरङ, महोत्तरी, सप्तरी, सर्लाही, धनुषा, नवलपरासी, चितवन लगायत जिल्लाबाट हुन्। अनुसन्धानका क्रममा अवैध कारोबारबाट जम्मा १७ अर्ब ८६ करोड ७० लाख रुपैयाँभन्दा बढी रकम संलग्न रहेको देखिएको शाहीले बताए।
सिआइबीले मुख्यतः अवैध रेमिट्यान्स सेवा तथा ट्राभल कम्पनीहरूमाथि निगरानी राखी कारबाही गरेको हो। नेपालमा आन्तरिक विप्रेषण सेवा बन्द भएपछि बढेको हुण्डी कारोबारका कारण अवैध आर्थिक गतिविधि मौलाएको पाइएको छ। प्रहरीले प्रारम्भिक अनुसन्धानमा अवैध कारोबारका लागि डिजिटल वालेट कम्पनीहरूको समेत दुरुपयोग भएको जनाएको छ।
“सजिलो पे” र “पेवेल नेपाल प्रा.लि.” जस्ता डिजिटल वालेट कम्पनीको नाममा अवैध रकम जम्मा गरेर ई-मनि बनाइने र पछि आन्तरिक रेमिट्यान्समार्फत रकम मिलान गरिने गरिएको पाइएको छ। यसक्रममा विभिन्न बैंक खातामा भरिया प्रयोग गरी ठूला परिमाणमा रकम ट्रान्सफर गरिएको देखिएको छ।
पक्राउ परेका मध्ये विरेन्द्र प्रसाद साह (मोरङ), श्रवण कुमार साह (महोत्तरी), तारालाल यादव (सप्तरी), हरेराम महतो (सर्लाही) लगायतका व्यक्तिहरूका कम्पनीहरूबाट करोडौं रुपैयाँको अवैध कारोबार भएको प्रमाण भेटिएको छ।
सिआइबीले अवैध कारोबार गर्ने १८ वटा कम्पनीहरूलाई अनुसन्धानको दायरामा ल्याएको छ। शाहीका अनुसार, यदि उक्त रकम बैंकिङ प्रणालीमार्फत कारोबार भएको भए राज्यको राजस्व बढ्ने थियो, तर उक्त कारोबार छायाँ अर्थतन्त्रको रुपमा चलेको छ।
पक्राउ परेकाहरूमाथि नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत अनुसन्धान अघि बढाइएको छ। साथै, अवैध कारोबारबाट आर्जित रकमलाई वैध देखाउन प्रयास गरिएको भन्दै अतिरिक्त कारबाहीका प्रक्रिया अघि बढाइएको छ।
क्र.स. | पक्राउ (संचालक) | उमेर (बर्ष) | ठेगाना | एजेन्टको नाम / कम्पनिको नाम | अबैध कारोवारबाट हालसम्म खुल्न आएको रकम |
१. | विरेन्द्र प्रसाद साह | ५९ | मोरङ | DS TRADERS TATHA REMITTANCE | २,८२,१९,३३,०१८ ।- |
२. | दिपेन्द्र प्रसाद साह | ३१ | मोरङ | ||
३. | श्रवण कुमार साह | २४ | महोत्तरी | DIP JYOTI TRADERS | १,५१,२०,६०,४२४ ।- |
४. | तारालाल यादव | ३२ | सप्तरी | RIYA TRADERS | १,३९,५५,३५,४२५ ।- |
५. | हरेराम महतो | २५ | सर्लाही | AANAND TRADERS | १,०२,६३,९८,८४७ ।- |
६. | निरोज कुमार महतो | ३१ | धनुषा | NEW SANDHYA ENTERPRISES | ८४,०७,८६,५८४ ।- |
७. | अलिता देवी महतो | ४५ | धनुषा | ALITA MONEY TRANSFER | ९६,७५,४६,६०० ।- |
८. | प्रकाश सिंह | ३५ | धनुषा | ||
९. | अरुण कुमार साह | २७ | धनुषा | SHREE ANJAL ENTERPRISES | ८६,८५,३४,५७३ ।- |
१०. | प्रदिप कुमार साह | २६ | पर्सा | R. AND R. SUB REMIT PRIVATE LIMITED | १,०१,१५,९१,९२० ।- |
११. | संजिव कुमार महतो | ४४ | धनुषा | JAY MA JANAKI MONEY TRANSFER | ६४,०३,८८,५०५ ।- |
१२. | राज कमल लोनिया | २२ | नवलपरासी | PUJA SUPPLIERS | ९७,५९,९८,३२५ ।- |
१३. | भिम कुमारी गुरुङ | ४३ | नवलपरासी | TASHI TRAVELS AND TOURS | ७९,७१,२४,१८४ ।- |
१४. | राम विलास साह तेली | ३५ | सप्तरी | SHIVAM ENTERPRISES | ९९,२८,२६,७७० ।- |
१५. | ममता कुमारी साह | ३२ | सप्तरी | ||
१६. | बिकर्ण जंग राणा | ३२ | पर्सा | SASVIKA MONEY TRANSFER | ६८,६४,५६,४०७ ।- |
१७. | गणपती पाण्डे | ३४ | नवलपरासी | GOLDEN SKY TOURS AND TRAVELS | ९१,१२,७५,८३२ ।- |
१८. | सलमा खातुन | ३८ | विरगंज | KHUSI MONEY TRANSFER | ७५,५५,२६,३५८ ।- |
१९. | शुसिला कुमारी शाहु | ३१ | सप्तरी | RADHIKA TRADERS | ५७,४८,९४,८२२ ।- |
२०. | गोविन्द प्रसाद आचार्य | ६४ | चितवन | HIMALAYAN MONEY TRANSFER | ५१,४९,०९,७४४ ।- |
२१. | सम्भु मेहता | २२ | सप्तरी | SAGARMATHA REMITTANCE | ५७,३२,५०,७६९ ।- |
जम्मा: १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ |