
हेटौँडा, मकवानपुर –
शुक्रबार दिउँसो हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सिमानास्थित गैरी गाउँमा एक बोलेरो भ्यान अकस्मात सडक भासिएर जमिनमुनि हराएको छ। ना ४ च ४८३३ नम्बरको उक्त बोलेरो (सिंगल क्याप भ्यान), माछा बोकेर रोकिराखिएको अवस्थामा जमिनसहित भासिएर बेपत्ता भएको हो।
स्थानीय प्रहरीका अनुसार गाडी रोकिएको स्थानमा केहीबेरमै सडक चिराचिरा हुँदै ठूलो खाल्डो बनेर गाडी सहित जमिन निलिएको हो। प्रत्यक्षदर्शीहरूका भनाइमा करिब पाँच सेकेन्डमै गाडी सम्पूर्णरूपमा पानीमा गढेको थियो।
सौभाग्यवश, गाडीका चालक र सहचालकले समयमै बाहिर निस्कन सफल भएका कारण मानवीय क्षति भने हुन पाएन। गाडी गढेको स्थान अहिले सडकमै ठूलो दहको स्वरूपमा परिणत भएको छ।
घटनास्थल नजिकै माछापालन पोखरी र बोरिङ रहेको र सम्भवतः बोरिङको प्रभावले माटो कमजोर भएर जमिन भासिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनापछि पानीको सतहले गाडी देखिएको छैन र पानीको निकास गरी खोजी कार्य तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ।
स्थानीयवासीहरु यो घटना देखेर त्रसित छन् भने सडक सुरक्षाको प्रश्नले फेरि सतहमा आएको छ।