हुम्लामा सोमबार रातिदेखि लगातार हिमपात भइरहेको छ। सदरमुकाम सिमकोटमा करिब दुई इन्चसम्म हिउँ जमेको छ भने उत्तरी क्षेत्रमा नाम्खा गाउँपालिकालगायतका उच्च हिमाली भेगमा हिउँको तह एक फिटसम्म पुगेको छ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेका अनुसार हिमपातले तापक्रम माइनसमा झरेको छ, जसका कारण चिसो अत्यधिक बढेको छ। यो अवस्थाले दैनिक जीवन कष्टकर बनाएको छ। हिमपातका कारण लिमी, यारी, हल्जी, तील, र हिल्सालगायतका गाउँका जनजीवन ठप्प भएको छ।
जिल्लाको दक्षिणी क्षेत्रमा भने वर्षा भइरहेको छ। हिमपात र चिसोले यातायात अवरुद्ध भएको र खाद्य आपूर्तिमा समेत समस्या उत्पन्न भएको जानकारी प्राप्त भएको छ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका स्थानीयवासीलाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा सार्न आग्रह गरेका छन्। वृद्धवृद्धा, बालबालिका, र हिमपहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई विशेष ध्यान दिन भनिएको छ।
जिल्लाका विभिन्न स्थानमा हिमपातसँगै चिसोका कारण आवतजावतमा समस्या परिरहेको र जनजीवन थप कठिन बन्दै गएको जनाइएको छ।


