वीरगञ्ज — हिन्दू देवी–देवतामाथि गरिएका अभद्र तथा आपत्तिजनक अभिव्यक्तिको विरोधस्वरूप आज वीरगञ्जमा ठूलो संख्यामा प्रदर्शन भएको छ। हिन्दू समाजको आह्वानमा आयोजना गरिएको उक्त प्रदर्शनमा विभिन्न धार्मिक संघ–संस्था र आस्थावान नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रदर्शनमा सहभागीहरूले धार्मिक भावना र सामाजिक सद्भावमा आँच पुर्याउने गतिविधि कदापि सह्य नहुने भन्दै दोषीलाई कानुनको दायरामा ल्याई कडा कारबाही गर्न माग गरे। उनीहरूले यस्ता अभिव्यक्तिले समाजमा द्वेष र अशान्ति फैलाउने खतरा रहेको उल्लेख गर्दै भविष्यमा यस्ता घटना नदोहोरियोस् भन्नेमा राज्यको सक्रिय भूमिकाको आवश्यकता औंल्याए।
शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रदर्शनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक सुरक्षा सतर्कता अपनाएको थियो। सुरक्षा व्यवस्था चुस्त राखिएको कारण कुनै अप्रिय घटना नभएको जनाइएको छ।
यसैबीच, धार्मिक आस्था र भावनामाथि चोट पुर्याउने खालका अभिव्यक्ति तथा गतिविधिलाई नियन्त्रण गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले हिन्दू समाजका अगुवा र जिल्ला प्रशासन कार्यालय पर्साबीच छलफल जारी रहेको जानकारी प्राप्त भएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा बसेको विशेष सुरक्षा समितिसँग समन्वय गर्दै आगामी कदमबारे विचार–विमर्श भइरहेको बताइएको छ।


