काठमाडौं, १० वैशाख। नेपाली बजारमा सुनको मूल्यमा एकैपटक ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७,५०० रुपैयाँले घटेको छ।
अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज घटेर १ लाख ९० हजार ४०० रुपैयाँमा झरेको छ। यो गिरावट हालसम्मकै उच्च मूल्यपछि देखिएको हो।
सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घट्दै १ हजार ९६५ रुपैयाँमा कारोबार हुने जनाइएको छ।
अन्तर्राष्ट्रिय बजारको कुरा गर्दा, सुन प्रतिऔंस करिब ३ हजार ३४५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ। विदेशी बजारमा आएको अस्थिरताको असर नेपाली बजारमा समेत देखिएको विश्लेषण गरिएको छ।


