काठमाडौं — साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार फेरि दबाबमा देखिएको छ। नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक दोहोरो अंकले घट्दै बन्द भएको हो। अघिल्लो दिन आइतबार झन्डै २० अंकले घटेको बजार आज थप १३।८८ अंकले ओरालो लाग्दै बन्द भएको छ।
नेप्से घटेसँगै समग्र कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा कम भएको छ। सोमबार कुल ३३२ कम्पनीका ९१ लाख ६७ हजार ३५९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार ७१८ रुपैयाँमा सीमित रह्यो। आइतबार भने करिब ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
आजको कारोबारमा एउटा मात्र कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा पुगेको छ। एसवाई प्यानल नेपाल लिमिटेडको सेयर मूल्य उच्च वृद्धि हुँदै सकारात्मक सर्किटमा कारोबार भएको हो।
कारोबार रकमका आधारमा लुम्बिनी विकास बैंक अग्रस्थानमा रह्यो। उक्त बैंकको करिब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यसपछि सन नेपाल लाइफ इन्स्योरेन्सको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। मञ्जुश्री फाइनान्स, हिमालयन पावर र सिटिजन्स लाइफ इन्स्योरेन्सले समान रूपमा करिब ७–७ करोड रुपैयाँको सेयर कारोबार गरेका छन्।
आज कारोबारमा आएका स्टक्समध्ये ५४ वटाको मूल्य बढ्दा २०० वटाको मूल्य घटेको छ भने बाँकी केही समूहका सेयर मूल्य स्थिर रहेका छन्। समूहगत रूपमा हेर्दा ट्रेडिङ समूहबाहेक सबै उपसूचकहरू नकारात्मक देखिएका छन्, जसले बजारमा समग्र रूपमा कमजोर मनोबल देखाएको छ।


